Prakash Adhikari December 4, 2019

 

काठमाडौं, १८ मंसिर । यति एअरलाइन्स ग्रुपको स्वामित्वमा सञ्चालित नेपालन्युज धरासायी भएको छ । व्यवसायिक पत्रकारिता गर्ने वातावरण नभएको भन्दै प्रधान सम्पादक सुन्दर खनालसहित ११ जना पत्रकारले संस्था छोडेका छन् ।

७० लाख रुपैयाँ खर्च गरेर मर्कन्टाइल ग्रुपसँग ब्रान्ड किनेर गत जेठबाट आरम्भ गरिएको नेपालन्युज वित्तियस्थिति पनि सन्तोषजनक रहेको छैन् । तर तत्काल संकट चाही व्यवसायिक पत्रकारहरुको राजिनामाले निम्तिएको हो । यद्यपि कम्पनीको नोक्सानी छ महिनामा खर्च २ करोड ५० लाख पुगेको छ ।

नेपाल न्युजमा यति ग्रुपकै थामसेर्कु समूहका व्यवस्थापक रहेका रामचन्द्र राना प्रबन्धनिर्देशक हुनुहुन्छ । यतिकै अर्का हर्ताकर्ता रञ्जन श्रेष्ठ अप्रत्यक्ष रुपमा नेपालन्युजको सम्पूर्ण व्यवस्थापन हेर्नुहुन्छ ।

नेपालन्युजको होम फिचर्डमा अहिले प्रबन्धनिर्देशक रामचन्द्र राना र छेटु शेर्पाको नाममात्रै छ । यसअघि प्रधान सम्पादक सुन्दर खनाल र प्रबन्ध निर्देशक रामचन्द्र रानाको नाम थियो ।

एक वर्ष बिना विज्ञापन चलाउने भनेर सुरु भएको नेपाल न्युजले मालिकको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसंगको विशेष सम्बन्धलाई किनारामा राखेर व्यवसायिक देखिन सरकारको कार्यशैली, प्रचण्डको परिवारवाद, नेकपाका सांसद एवम् अहिलेका महिला समाजकल्याण तथा बालबालिका मन्त्री पार्वत गुरुङ, रमेश खरेलसंग सम्बन्धित विषयमा प्रकाशन गरेको समाचार र टिप्पणीहरुले पत्रकार र ब्यवस्थापनबीच फाटो बढाएको बताइन्छ ।

नेपाल न्युजका प्रधान सम्पादक सुन्दर खनालले फेसबुकमार्फत सबैलाई धन्यवाद दिँदै नेपालन्युजबाट बिदा लिएको उल्लेख गर्नुभएको छ । उहाँसँगै सम्पादक सुशील भट्टराई, समाचार सम्पादकहरू अमृत दाहाल, छत्र कार्की तथा सहायक सम्पादकहरू गजेन्द्र बोहरा, अशोक अधिकारी, उजिर कार्की, यज्ञराज जोशी लगायतले नेपालन्युज छोड्नुभएको छ ।

Share Now

Leave a comment.