काठमाडौं, २८ पौष । नपालका कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले स्वतन्त्र न्यायापालिकाका लागि सबै प्रकारको दबाव र प्रभाव अशोभनीय भएको बताएको छ ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीप्रति अशिष्ट भाषाको प्रयोग गरी उनको राजिनामा समेतको माग राखी अनसन बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको पक्राउ, अदालतको अपहेलना मुद्दामा सर्वोच्च अदालतको आदेश र साधारण तारेखमा छुटेपछि पनि डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामाको माग राखी जारी राखेको अनसन सम्बन्धी घटनामा बारले शुक्रबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादित गरेको कानुनी सिद्धान्त सबैले पालना गर्नुपर्ने भन्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराउदै बारका महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’स्वतन्त्र,सक्षम, उत्तरदायीपूर्ण न्यायपालिकाप्रति आँच आउने, अदालतप्रतिको जनआस्था घटाउने,संविधान,एैन कानुनको परिपालना नगर्ने र अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी मात्र नगरी व्यक्तिगत रुपमा लाञ्छना लगाउने,अशिष्ट भाषा प्रयोग गर्ने आफ्नो अनुकूलतामा फैसला आदेश नभएमा प्रधानन्यायाधीशको राजिनामा माग गर्ने माग पूरा नहुञ्जेलसम्म आमरण अनसन जारी राख्ने जस्ता विषयवस्तुले प्रश्रय पाउने हो भने र त्यस विषयलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने कुन विषय बस्तु कुन ठाँउमा उठाउने र उपचार गर्र्ने माध्यम के हो विषयमा जटिलतामात्र देखिने नभइ गलत प्रक्रिया र पद्धतिको विकास हुने तर्फ सरोकारवाला सबैको ध्यानाकर्षण गराइन्छ ।’
बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था पनि स्मरण गराएको छ ।
उजुरी परेमा न्याय परिषद्ले अध्ययन गर्ने भन्दै भनेको छ, ‘उक्त कानुनी व्यवस्थाको परिपालना गरी स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न अनुरोध गरिन्छ ।’
बार एशोसिएसनले डा। केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको स्वागत पनि गरेको छ ।उसले अनसन स्थगित गर्न पनि आग्रह गरेको छ । ‘