Prakash Adhikari December 14, 2019

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शनिबार बिहान वार्ता भएको छ ।

कांग्रेस सभापति देउवा वार्ताका लागि बिहान १० बजे उपसभापति विमलेन्द्रलाई लिएर पौडेल निवास बोहोराटार पुग्नुभएको थियो ।

देउवा र पौडलबीच १ घण्टा छलफल भएको थियो ।

पौडेल पक्षले बिहीबारको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि शनिबार देउवा सहमति खोज्न पौडेलसँग कुराकानी गर्न पुग्नुभएको हो ।

https://www.facebook.com/imagekhabar.com.np/videos/750730735422772

शीघ्र पार्टी महाधिवेशनको पक्षमा रहेको पौडेल पक्षले महाविधेशन लम्ब्याउन चाहेको संस्थापन पक्षसंग पार्टीको जारी केन्द्रीय समितिको बैठकमा महाधिवेशनको कार्यतालिका ल्याउन दबाव दिएको छ । तर संस्थापन पक्ष पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको मिति घोषणा गर्ने रणनीतिमा छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कम्तिमा एक बर्ष वर्तमान कार्यसमितिको म्याद थप गरिने जानकारी दिइसक्नु भएको छ ।

यस्तै देउवा पक्षले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ बनाउने प्रस्तावप्रति पनि पौडेल पक्षको विमति रहेको छ ।

पौडेल पक्षको बहिस्कारका बीच देउवा पक्षले केन्द्रीय समिति बैठकमा छलफलका लागि ४१ विभागको गठन र नेपाल तरुण दलको कार्यसमितिको म्याद ६ महिना थप लगाइत ९ वडा एजेण्डा प्रस्तुत गरेको थियो ।

शनिवारको बोहोराटार वार्तामा देउवाले महाधिवेशनको कार्यलातिकाबारे सोच्न सकिने भनेर छलफल टुंग्याउनुभएको थियो ।

विभाग गठन र महाधिवेशन कार्यतालिका विवाद समाधानका लागि देउवा पक्षबाट उपसभाति निधि र पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित वार्ता टोलीले थप छलफल गर्ने छ ।

पौडेल पक्षले संस्थापन पक्षमा विभाग गठन र महाधिवेशन तयारीका लागि वार्ता गर्न कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र हृदयराम थानी रहेको दुई सदस्यीय समिति बनाएको छ ।

तर पार्टीका वरिष्ठ नेता पौडेल भने भोलिको निर्धारित पार्टी बैठक छोडेर पाथीभरा माईको दर्शनमा जानुहुने भएको छ । उहाँ पत्नी, छोरा र बुहारी सहित पारिवारिक धर्मकर्मका लागि शनिवार नै विराटनगर पुग्ने र राति कोइराला निवासमा बस्ने कार्यक्रम छ ।

उक्त वार्ता टोली शनिबार अपराह्न वा आइतबार बिहान छलफलमा जुट्ने छ ।

वार्ता टोलीबीचको छलफलले नै मंसिर २९ गतेलाई बोलाइएको केन्द्रीय समिति बैठकको भविष्य निर्धारण गर्नेछ ।

यसअघि शुक्रबार सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षको भेलाले केन्द्रीय समितिमा महाधिवेशनको कार्यतालिका बेगरका एजेण्डामा हुने छलफल सहभागी नहुने निष्कर्ष निकालेको थियो ।

शुक्रबार चाक्सीबारीमा बसेको बैठकले पौडेल पक्षीय केन्द्रीय समितिका सदस्यहरुको बैठकले नै महाधिवेशनको कार्यतालिकाको अडान नछाड्ने निर्णय गर्दै प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति बनाएको छ ।

Share Now

Leave a comment.