ओशाका (जापान), २८ मंसिर । नेपालबाट ओशाका उडेको नेपाल वायु सेवा निगमको शनिवारको उडान नं ४११ खाली खाली आइपुग्यो ।
नेपालको पर्यटकीय सिजनको समापन र क्रिशमसको समय आउन लागेकोले धेरै पर्यटकहरु घर फर्कने समय हो यो ।
नेपालबाटै विदेशका अन्य गन्तव्यमा जाने विदेशी एअरलाइन्समा पनि टिकट पाउन मुस्किल हुन्छ तर यस्तो समयमा पनि निगमको जहाज खाली सिट लिएर जापानको ओशाका उत्रियो ।
भाद्र १२ गतेको शुभारम्भ उडानदेखि नै निगमको ओशाका उडान कहिल्यै पनि भरिएको छैन् ।
निगमले ओसाकाका लागि सातामा मंगलबार, बिहीबार र शनिवारको नियमित उडान सुरु गरेको थियो । तर यात्रु भर्न नसकेपछि बिहिबारको उडान रद्द गरेर साताको दुई उडानमात्र सुचारु गरिएको छ ।
निगमले ओशाकाका लागि चयन गरेको जिएसएले पनि राम्रो काम गर्न सकेको छैन् ।
निगमले जापानको ओशाकाका लागि नियुक्त गरेको प्रतिनिधि देवमान हिराचनबाट खोसेर एभिएसन इन्टरनेशनल जापानका नोबुमित्सु गोतोलाई दिएपछि जापानको ओशाकाको बजार प्रबर्धन चौपट हुन गएको थियो ।
अहिले निगमलेको व्यवस्थापनले ओशाका छोडेर टोक्यो नजिकको नारिता विमानस्थलमा नियमित उडान गर्न खोजेको छ । यसैले जिएसएले ओशाकाको मार्केटिड.लाई प्रबर्धन गर्न छोडेको छ ।
यसैले निगमको ओशाका उडानप्रति जापानी यात्रुहरुको विश्वास बढ्न सकेको छैन् ।
ओशाका निगमको प्राथमिकतामा परेको छैन ।
जापानको नागरिक उड्डयन ब्यूरोले निगमको उडानको चारपटक सुरक्षा जाँच गरिसकेको छ । यस्तो सुरक्षा जाँच बर्षको एकपटक हुनु सामान्य हो । तर उडान सुरु भएको साढे तीन महिनाभित्र चारपटक सुरक्षा जाँच हुनुले निगमको विश्वसनीयतामा जापानी अधिकारीहरु ढुक्क हुन नसकेको संकेत दिएको छ ।
नेपाल भ्रमण बर्षको संघारमा राष्ट्रिय ध्वजाबाहक विमान सेवाको यस्तो दुर्गति छ । तर निगम सुधार्ने नाममा आउनुभएका कार्यकारी अध्यक्ष केवल आफ्नो आर्थिक हैसियत सुधार्न लाग्नुभएको छ । सबैले आशा गरेका युवा मन्त्री योगेश भट्टराई केही गर्ने आँट गर्नुहुन्न । मृगौला बिमारीले थलिनुभएका प्रधानमन्त्रीलाई आफ्नै जीवनको चिन्ता बढ्न थालेको छ, निगमको अवस्थाको बारेमा ध्यान दिने फुर्सद छैन् । निगम केवल इष्ट देवता आकाश भैरव र हिन्दुहरुका आराध्य देवता पशुपतिनाथको भरमा छ ।हे भगवान !!
गत बर्ष आषाढ र साउनमा निगमको बेडामा भित्रिएका दुवै बाइड बडीका जहाजलाई नयाँ गन्तब्य खोज्ने क्रममा जापानको ओशाका, कोरियाको सिउल, चीनको ग्वान्जाऊ र सउदी अरेबियाको रियादमा समानान्तर रुपले कारबाही चलाउदा पहिले उडान गरेर बन्द भएको ओशाका निगमको लागि सहज भएको थियो ।