चौतारा(सिन्धुपाल्चोक), २९ मंसिर । दोलखा जिल्लाको कालिन्चोकबाट भक्तपुर फर्किरहेको एउटा यात्रुवाहक बस आइतवार बिहान सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको छ किलो भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश खनालका अनुसार मृतकमध्ये तीन बालबालिका, आठ महिला र तीन पुरुष रहेका छन्।
यसअघि निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बीबीसीसँग कुरा गर्दै बसमा तीर्थयात्रीहरू सवार भएको बताएका थिए।
निरीक्षक खनालका अनुसार शनिवार कालिन्चोकको दर्शन गरेर यात्रीहरू राति मुढे आएर बसेका थिए।
बिहान भक्तपुर फर्किरहेको बस सडकबाट झन्डै ५०० मिटर तल खसेको थियो। प्रहरीका अनुसार कालिन्चोक दर्शन गर्न गएका यात्रीहरूले उक्त बस रिजर्भ गरेका थिए।
घटनास्थलबाट उद्धार गरी घाइतेहरूलाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
निरीक्षक खनालका अनुसार धेरै मृतकको सनाखत हुन बाँकी नै छ।
घाइतेमध्ये आठ जनालाई खाडीचौरस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने बाँकी १० जनालाई धुलिखेल तथा काठमाण्डू पठाइएको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार दुर्घटनाको कारण थाहा हुन सकेको छैन।
तर निरीक्षक खनालका अनुसार आफूलाई बसको सहचालक बताउने एक व्यक्तिले बसको पाङ्ग्राको हावा कम भएको प्रहरीलाई बताएका छन्।
दुर्घटनाको शृङ्खला
झन्डै दुई साताअगाडि पश्चिम नेपालको अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको ज्यान गएको थियो।
त्यस्तै एक महिनाअगाडि सिन्धुपाल्चोकको सुकुटेनजिकै सुनकोशी नदीमा बस दुर्घटना हुँदा पनि कम्तीमा १७ जनाको ज्यान गएको थियो।
नेपालमा बर्सेनि सडक दुर्घटनाका कारण सयौँले ज्यान गुमाउने गर्छन्।
सडक दुर्घटनामा धेरैले ज्यान गुमाउने देशहरूमध्ये नेपाल पनि पर्छ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले नेपालमा ४,५०० जनाले बर्सेनि ज्यान गुमाइरहेको देखाउँछ।
नेपाल सरकारले भने २,५०० जनाले ज्यान गुमाइरहेको बताउने गरेको छ।(बीबीसी )