काठमाडौं., २९ पौष । सरकार र अनसनरत प्रा.डा. गोविन्द केसीबीच शुक्रबार राति ११ बजे ५ बुँदे सहमति भएको छ ।
सहमति पत्रमा सरकारका तर्फबाट स्वास्थ्य मन्त्री दीपक बोहरा र प्रा. डा. गोविन्द केसीले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आर्इओएम) को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने,त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने, त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने र केसीले अनसन कार्यक्रम अन्त गर्ने बुँदाहरु उल्लेख गरिएको छ ।
हिजो सम्पन्न सहमतिलाई पालना गर्दै अनसनरत प्रा.डा. गोविन्द के.सी.ले आजैदेखि अनसन तोड्ने जानकारी उनका सहयोगी डा. अभिशेषराज सिंहले दिएका छन् ।
सर्वोच्च अदालतले आईओएमको डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न आदेश दिएलगत्तै प्रा.डा केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अनसन बसेका थिए ।
उनले अनसन बस्नुपूर्व गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेखित अमर्यादित भाषा र सार्वजनिक रुपमा दिएको अशिष्ट अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा मुद्दा परेपछि न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले अदातलमा उपस्थित गराउन नेपाल सरकार र नेपाल प्रहरीलाई आदेश दिएको थियो ।
प्रहरीले अनसनस्थलबाट राती नै उनलाई गिरफ्तार गरेपछि यो विषय निकै चर्किन गएको थियो ।
तर पुस २६ गते सर्वोच्च अदालतको संयुक्त इजलासले उनलाई साधारण तारेखमा छोड्ने आदेश दिएपछि उनले अनसनलाई निरन्तरता दिएका थिए ।
चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै आएका डा. के.सी.र सरकारका बीचमा भएको पछिल्लो सहमतिको पालना आउने सरकारले समेत इमान्दारीपूर्वक गरेमा त्रिवि शिक्षण अस्पतालमा अनसनका घट्ना पुनरावृत्ति नहुने देखिन्छ ।