पोखरा(कास्की), ४ पौष । पोखरा प्रिमियर लिगको दोस्रो संस्करण अन्तर्गत भएको शुक्रबारको खेलमा बुटबल ब्लाष्टर्सले डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई ८ विकेटले सहजै पराजित गरेको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले दिएको १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
बुटवलको जितमा ओपनिंग ब्याटिंग गरेका भारतीय खेलाडी अफ्ताबुद्दीन एहमदले सर्वाधिक ७५ शंकर रानाले १९ तथा भिम सार्कीले अविजित १६ रन बनाए।
बुटवललाई रोक्ने क्रममा पोखराका राशिद खान र प्रथमेश डाकेले समान १ । १ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको पोखरा पल्टनले २० ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनाउदै बुटबल ब्लाष्टर्ससामु १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
खराब सुरुवात गरेको पोखराले पहिलो ४ विकेट ३२ रनमै गुमाएको थियो। ओपनर कुशल भुर्तेल खाता नखोली आउट भए जसपछि कप्तान शरद भेसावकर ७ रन, बिनोद भण्डारी ३ रन तथा इशान पाण्डे १३ रन बनाएर आउट भए।
पाँचौ विकेटको लागि रोहित पौडेलसंग रभी इन्दर सिंहले ३५ रनको सझेदरी गरे। रभीले अविजित ४५ रन बनाए । पोखराका प्रथमेश डाकेले २० रन बनाए ।
पोखरालाई रोक्न बुटवलको बलिंगमा हर्ष टंकले उत्कृष्ट बलिंग गर्दै २ विकेट लिए। उनले ४ ओभरमा मात्र १० रन खर्चिए। ललित भण्डारी, शिभम् सिंह र नितेश थापाले समान १।१ विकेट लिए।
खेलमा बुटबलका कप्तान सोमपाल कामी घाइते भएपछि सिद्धान्त लोहनीले टिमको कप्तानी गरेका थिए। सिद्धान्तले प्रतियोगितामा पहिलो पटक मौका पाएका हुन्।
चौथो खेल खेल्ने क्रममा पोखराको यो लगातार तेश्रो हार हो। पहिलो खेलमा काठमाडौँ गोल्डेन्स वारियर्सलाई ९ विकेटले पराजित गरेको पोखराले त्यसपछि चितवनसंग ६ विकेटको तथा बिराटनगर टाईटन्ससग ४५ रनको हार बेहोर्न पुगेको थियो।
तेश्रो हार पछि अब पोखराको उत्कृस्ट ३ भित्र पर्दै प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ। पोखराले अब धनगढीसंग सोमबार लिगको अन्तिम खेल खेल्नेछ।
तेश्रो खेल खेल्दा बुटवलको भने यो दोश्रो जित हो। बुटवलले पहिलो खेलमा काठमाडौँलाई सुपर ओभरमा पराजित गरेको थियो भने दोश्रो खेलमा चितवन राइनोजसंग १ सय १९ रनको हार बेहोरेको थियो।


















