धनगढी(कैलाली), २९ पौष । लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले मनाङ मस्र्याड.दी क्लबलाई ३–१ ले पराजित गरेको थियो ।
आर्मी गत बर्ष पहिलो खेलबाटै बाहिरिएको थियो ।
त्रिभुवनआर्मी क्लबलाई विजयी बनाउन कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे ।
मनाङका लागि हेमन गुरुङले एक गोल गरे ।
खेलमा शुरुवाती अग्रता भने मनाङले लिएको थियो । खेलको नवौं मिनेटमा मनाङले हेमन गुरुङद्वारा खेलमा अग्रता लिएको थियो । क्रसमा आएको बल आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा पेनाल्टी बक्समा रहेका हेमनले सो अवसरलाई सदुपयोग गरेका थिए ।
तर खेलको २३ औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए । ४५ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गर्दै अमीलाई अग्रता दिलाए ।
८८ औं मिनेटमा सन्तोष तमाङले नवयुगको पासमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।
आर्मीका नवयुग श्रेष्ठ खेलको म्यान अफ द म्याच घाषित भए । उनले १० हजार रुपैया प्राप्त गरे ।
जितसँगै आर्मी सिजनको चौथो उपाधि नजिक पुगेको छ । आर्मीले यसअघि विकास रनिङ शिल्ड, सतासी गोल्डकप र मेची नेत्रालय काँकडभित्ता गोल्डकपको उपाधि जितेको थियो ।
अब आर्मीले उपाधिका लागि सोमबार आयोजक सुदुरपश्चिम र एपीएफबीचको विजेतासँग खेल्नेछ ।