Prakash Adhikari January 13, 2018

अजमान(संयुक्त अरब इमिरेट्स) । पाकिस्तान र यूएईमा संयुक्त रुपमा आयोजित पाँचौ दृष्टिविहिन एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हारसँगै नेपालको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छ ।

शनिबार दुबईको अजमानमा भएको खेलमा नेपालले श्रीलंकासँग ३ सय ४० रनको फराकिलो अन्तरमा हार बेहोर्यो ।

खेलमा श्रीलंकाले प्रस्तुत गरेको ४ सय ९४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १ सय ५४ रनमै सीमित हुन पुग्यो । नेपालले पहिलो विकेटका लागि ५३ साझेदारी गरे पनि लगातार विकेट गुमाएपछि धराशायी बनेको हो ।

सुनील थापामगर र रमेश बानियाँले अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिलाएपनि थप १०० रन जोड्दा नेपालले १० विकेट नै गुमायो । आपसी तालमेल गुमाउँदा नेपालका ६ खेलाडी रनआउटको शिकार भए । नेपालका लागि बद्री चौलागाईले सर्वाधिक ३७ रनको योगदान दिए ।

ओपनर सुनीलले रनआउट हुनुअघि २५ रन बनाए । अर्का ओपनर रमेश पनि २२ रनमा रनआउट भए । राम्रो लयमा देखिएका खिमानन्द १३ रनमा रनआउट भए । नियमित कप्तान किर्तन श्रेष्ठ घाइते भएपछि नेपालको नेतृत्व पदम बडेलाले लिएका थिए । पदमले एक चौकाको मद्दतले ११ रनको योगदान दिए ।

श्रीलंकाको बलिङमा दिमुथु रविन्द्रा, चन्दना देशप्रिया, दामिथ सान्दरुवान र दिनेश माथुगमाले समान १–१ विकेट लिए । लंकन फिल्डरले उत्कृष्ट फिल्डङ गर्दै नेपाली ब्याट्सम्यान रन बटुल्नबाट रोकेका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरा ओभर खेल्दै ४ सय ८४ रनको विशाल योगफल तयार परेको थियो ।

यद्यपि, ढिलो ओभर बलिङ फ्याकेपछि नेपालमाथि १२ रनको पेनाल्टी थपिएको थियो । श्रीलंकाका लागि दिमुथु रविन्द्राले १ सय ८ रन तथा चन्दना देशप्रियाले १ सय २९ रनको अविजित शतकीय पारी खेले । प्रियन्था कुमाराले ६९ रन र केए सिल्भाले ३२ रन जोड्दै लंकन पारी उकासे ।

नेपालका बलरले अतिरिक्त ५३ रन दिएपछि श्रीलंकालाई ठुलो स्कोर खडा गर्न मद्दत मिलेको थियो ।

नेपालको बलिङमा सबै बलर महंगा साबित भए । नेपालका लागि दुर्गादत्त पौडल र सुर्य भट्टराईले समान १ विकेट लिए । नेपालका सबै बलरले १० रनरेट भन्दामाथि खर्चिए ।

नेपालको हारसँगै सेमिफाइनल पुग्ने ३ राष्ट्रको टुंगो लागेको छ । भारतले ३ जित तथा पाकिस्तान, श्रीलंका र बंगलादेशले समान २ जित निकालिसकेका छन् ।

नेपालले आइतबार साकिकको विजेता भारतसँग खेल्नेछ । विश्वकपमा अपराजित भारतले शनिबार बंगालदेशमाथि १० विकेटको जित निकालेको थियो ।

Share Now

Leave a comment.