काठमाडौँ, ८ पौष । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पद जोगाउनका लागि निगमको पैसामा पुरस्कार खरिद गरेर विभागीय मन्त्री र प्रधानमन्त्रीलाई झुक्याउन खोजेको रहस्योद्घाटन भएको छ ।
निगमले केही दिन पहिले पाएको सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ लिन कार्यकारी अध्यक्ष खरेलले सोल्टी होटलमा कार्यक्रम आयोजना गर्दा लागेको खर्च सबै निगमबाट व्यहोर्नु भएको निगम सूत्रले बताएको छ । अध्यक्ष खरेलले कार्यक्रम आयोजना वापत होटलमा गरिएको कार्यक्रममा ७४ हजार ५ सय ८० रुपैयाको बिल भुक्तानी गर्न निगमको संबन्धित विभागलाई निर्देशन दिनुभएको छ ।
निगम होटल सोल्टीको शेयरहोल्डर पनि हो । निगमले आफूले गर्ने कार्यक्रममा छुट पनि पाउँछ ।
यस बाहेक पुरस्कार प्रदान गर्ने संस्था एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर एशोसिएसन’का अध्यक्ष टिपियस ग्रोबरसहितका प्रतिनिधिहरुलाई काठमाडौंसम्मको आतेजाते हवाई टिकट र होटल बास र संस्थालाई डोनेसन पनि निगमका विभिन्न शीर्षकबाट गरिएको निगम सूत्रको दावी छ ।
एशोसिएशनका अध्यक्ष टिपियस ग्रोबरलेले ४ सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समीक्षक, यात्रु र उड्डयन पत्रकारले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो सम्मान दिइएको दावी गरेपनि निगमको उडानमा जाने यात्रुहरुले नेपाल एअरलाईन्सको सेवा मन नपराएर निगमको उडान खाली हुने गरेको उडान संख्या नै कटौती गर्नुपरेको यथार्थ अवस्थाले अध्यक्षको दुस्प्रयासलाई ब्यंग्य गर्दछ ।
वायुसेवा कम्पनी कर्मचारी र चालक दलले यात्रुलाई गर्ने व्यवहार, यात्रु सेवा, विमानभित्र प्रदान गरिने खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायत मापदण्डका आधारमा सो अवार्ड विजेता एअरलाइन्स छनोट गरिने बताइन्छ । तर निगमको खाना, सीट, निगमको अकुपेन्सीमा आजसम्म निरन्तर प्रश्न उठिरहेको निगमलाई प्राप्त यस अवार्डले अन्य विलासी एअरलाइन्समा यात्रा गरेकाहरु भने आश्चर्य चकित छन् । जापानको ओशाका जाने यात्रुहरुको दावी छ, निगमको खाना लामो दूरीमा चल्ने हवाईजहाजहरुमा सबैभन्दा खराब छ । जुन यात्रुहरुलाई लक्षित गरि उडान गरिएको छ, जापानी स्वादको मेनु र मेन कोर्स नै छैन् ।
संस्थाको व्यवस्थापनको दुरावस्था र अन्तराष्ट्रिय उडानमा निगमको हविगत देखेका विभागीय प्रमुखहरुले त सो कार्यक्रममा अध्यक्षसंग बसेर तस्वीर खिचाउन समेत रुचि देखाएका थिएनन् । निगमका अपरेशन डाइरेक्टर क्याप्टेन दीपु ज्वहारचनको सक्रियतामा भएको अवार्ड किन्ने समारोह निगमभित्र मजाकको विषय बन्ने गरेको छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीको नजरमा पनि निकम्बा सावित हुनुभएका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको नजरमा पनि प्रारम्भदेखि नै बिझाउने पात्रका रुपमा चित्रित हुनुभएका कार्यकारी अध्यक्ष वर्खास्तीको संघारमा हुनुहुन्छ ।
किनेकै भएपनि एक क्षणिक आनन्द दिने अवार्ड ग्रहण तथा गोञ्जाओ र टोकियोमा उडान प्रारम्भ गर्ने नयाँ गन्तब्यको घोषणाजस्ता सुखद् समाचारका बीचमा पनि कार्यकारी अध्यक्ष खरेलले स्वेच्छिक राजिनामा नदिएमा उहाँले विभिन्न आरोपमा दोषी करार गर्दै निष्काशन गर्न मन्त्रीको टीम अग्रसर हुँदैछ ।
उहाँमाथि संसदको सार्वजनिक लेखासमितिको निर्देशनलाई लत्याएर न्यारोबडीको जहाजको इञ्जिन र बडीको मर्मतसंभार केन्द्रको टेण्डरलाई निश्कर्षमा नपुर्याएको, बाईडबडीको पावर बाई आवर कम्पोनेन्ट सप्लाई गर्ने टेण्डर अल्झाएर जहाज भूमिस्थ गराई चर्को मूल्यमा उपकरण लिएर आर्थिक अनियमितता गरेको, बोर्डको निर्देशन विपरित विदेशका स्टेशनहरुमा कर्मचारी आफूखुसी सरुवा गरेर कमिशन बुझेको, निगममा स्वदेशी पाइलट बढाउने कार्य नगरी विदेशी पाइलट राखेर उनीहरुको चर्को पारिश्रमिक स्वीकृत गरि कमिशन खाने गरेको, निगमको बजार प्रबर्धन गर्न नसकेको, निगमलाई निरन्तर घाटाबाट उकास्न नसकेकोको, निगमले न्यारोबडी र बाइडबडीका जहाज लिंदा लिएको कर्जाको किस्ता भुक्तानी गर्न नसकेको लगायत दर्जनौ आरोपहरु लागेका छन् ।
निगममा रहेका मन्त्रीनिकट नेकपासमर्थित यूनियनका केही पदाधिकारीहरुले उहाँ विगतमा निगमकै महिला कर्मचारीसंगको याँैनाचारमा बदनाम भएको रिपोर्ट पनि पुर्याएका छन् ।


















