काठमाडौं, १३ पौष । प्रधानमन्त्री के पी शर्मा ओली रुग्ण शैय्याबाट बौरिएको बेला अझै पनि भ्रष्टाचार विरुद्धको शून्यसहनशिलता र सुशासनको कुरा गर्न थाक्नुहुन्न । तर उहाँ बिमारीले ओछ्यानमा परेको बेला उहाँको नाममा शासन चलाउनेले विभिन्न अपराधपूर्ण कर्ममा संलग्न व्यक्तिलाई नै राज्यको महत्वपूर्ण जिम्मेवारी सुम्पिहाल्छन् । अवस्था यस्तो आएको छ, कि प्रधानमन्त्री ओलीसहितको नाममा पार्टीको स्थायी समितिको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा प्रस्तुत भएको प्रस्तावमा सुशासन कायम गर्न र भ्रष्टाचार हटाउन सरकार असफल भएको उल्लेख भयो र स्थायी समितिले अनुमोदन गर्यो ।
ओली सरकारले अतिक्रमण भएका सार्वजनिक तथा सरकारी जग्गा फिर्ता ल्याउन बैशाख २३ गते पूर्वन्यायाधीश मोहनरमन भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको सदस्यमा पूर्वसहसचिव जानकी बल्लव अधिकारी, भूमि अधिकारकर्मी जगतबहादुर देउजा र दुर्गा दाहाल रहनुभएको छ। त्यस्तै आयोगको सदस्य सचिवमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव शंकरबहादुर थापा हुनुहुन्छ ।
यसअघिका विभिन्न सरकारले सार्वजनिक तथा सरकारी जग्गा छानविन गर्न गठन गरेका समिति र आयोगका प्रतिवेदनहरु अध्ययन गरी देशभरका सरकारी जग्गाको अभिलेखलाई भिडाएर व्यक्तिको नाममा पारिएका अतिक्रमित जग्गा फिर्ता ल्याउनेसम्मको अधिकार दिएको सो समितिमा सल्लाहकारको नाममा सरकारी कागजात कीर्ते गरी मोहीको जग्गा खान खोज्ने तथा सम्मानित पेशाको आवरणमा अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई जिम्मेवारी दिइएको फेला परको छ ।
युवराज कोइराला नामक एक खलपात्र जो सुवर्ण समशेर जबराको भक्तपुरमा रहेको मोहीयानीयुक्त जग्गा हडप्न मालपोत कार्यालयको ढड्डा सच्च्याउने कीर्ते कार्यमा अख्तियार अनुसन्धान दुरुपयोग आयोग, नेपाल प्रहरीको विधिविज्ञान प्रयोशशालाको अनुसन्धान प्रतिवेदनले दोषी ठहर गरेको र सो कार्यमा संलग्न अन्य प्रतिवादी तथा साक्षीहरुको बयान र सो कार्य सम्पन्न गर्न अख्तियार गरिएकाका प्रकरण प्रकरणका कार्य प्रमाणका आधारमा भक्तपुर जिल्ला अदालतले १ बर्ष कैद र ५० रुपैया जरिवाना तोकेको थियो, तिनै युवराजलाई ओली सरकारले यस्तो महत्वपूर्ण आयोगको सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
को हुन् युवराज? कसरी अपराध कर्ममा प्रवृत भए ?
पुख्यौंली घर संखुवासभा जिल्ला खाँदवारी नगरपालिका वडा नं ९ भई हाल काठमाडौं महानगरपालिका वडा नं ३५ बस्ने कृष्णप्रसाद भन्ने युवराज कोइराला धनपति कोइरालाका नाति र शक्तिप्रसाद कोइरालाका छोरा हुनुहुन्छ ।
संखुवासभाबाट काठमाडौं आउदा युवराजको रात विताउने डेरा थिएन, उहाँका भाई मेखबहादुर कोइराला नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण समशेरका नाति तथा प्र.सेनानी कनकसमशेरका छोरा हेमाद्री समशेरको घरमा भान्से हुनुहुन्थ्यो । युवराज अर्थात मनका काला कृष्णले त्यही आश्रय लिनुभयो । काठमाडौंमा कानुनमा अध्ययन पनि गरेपछि राणापरिवारको कानुनी सल्लाहकारको भूमिका पनि निर्वाह गर्नुभयो । सुवर्ण समशेरका सन्ततिहरुको मञ्जुरीनामा लिंदै उहाँहरुका तर्फबाट विभिन्न व्यवसायिक तथा घरायसी लिखतहरुमा पनि कागजात तयार पार्नुभयो । उहाँको आर्थिक अवस्था उकासिदै गयो ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका तात्कालीन सभापति एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारले २०१७ सालदेखि प्रजातन्त्रको संघर्षमा लागेको कारण घर सम्पत्ति जफत भएका राजनीतिकर्मीहरुको जग्गा फिर्ता दिने निर्णय गर्यो । प्रजातन्त्रको हत्या गर्ने २०१७ साल पुस १ गतेको कदम लगत्तै प्रजातन्त्रका लागि लड्ने कांग्रेस कम्युनिष्टहरुलाई धनसम्पत्तिबाट बेदखल गराउन राजा महेन्द्रले विशेष परिस्थिति ऐन ल्याएर कब्जा गरिएको सुवर्ण समशेरको जग्गा फिर्ता हुने निर्णय पनि भयो ।
यसपछि काठमाडौंमा ओत नपाएर सडकमा गुजरा गर्नुपर्ने स्थितिबाट ग्रुजदै आएका कृष्णप्रसादमा युवराज बन्ने मोह जाग्यो । सुवर्ण समशेरका सन्ततिका तर्फबाट लेखापढी र वारेस बस्ने कागज आफै बनाएर सबैकाम गर्दै आउनुभएका नवयुवराज कोइरालाले धापासीको जग्गा फिर्ता ल्याउने काम गरेवापत जग्गा लिनुभयो। (भक्तपुर जिल्ला अदालतको फैसलामा प्रतिवादी मध्येका हेमाद्री समशेरले प्रतिवादी युवराज कोइरालाले धापासीसमेतको जग्गाहरुमा काम गरिदिए वापत जग्गा नै दिएको थिए । भक्तपुरको जग्गा दर्ता गर्ने कार्यसम्पन्न भएपछि जग्गा नै दिने कुरा भएको हो अरु कुनै फि दिएको छैन भनी सबालजवाफ ८ मा बयानगरेको देखिन्छ भन्ने उल्लेख छ ।)
कुशल भैरवीमा के भएको हो ?
भक्तपुरको साविक दिब्येश्वरी गाविस ३ ख को कित्ता नं ३५ को क्षेत्रफल ३ आना २ पैसा, कित्ता नं ४९ को क्षेत्रफल १२ आना,कित्ता नं ५१ को क्षेत्रफल ५ आना २ पैसा, कित्ता नं ५८ को क्षेत्रफल ११ आना र वडा नं ४ ख को कित्ता नं ३१९ क्षेत्रफल १ रोपनी ६ आना १ पैसा १ दाम जग्गा कमाउदै आएका मोहीहरु बुरमाया प्रजापति र रतनबहादुर कुमालकी छोरी पूर्णमाया कुमाल खड्काको हक खोसेर एकलौटी पार्नको लागि कृष्णप्रसाद भनिने युवराज कोइराला समेतको संलग्नतामा मालपोतका कर्मचारीहरुको मिलेमतोमा साविक दिव्येश्वरी कुशल भैरवथलीको मालपोत कार्यालय भक्तपुरमा रहेको असुलीतर्फको सक्कल लगत ठेलीमा सि.नं ९४३/ ४३३ पछि “म.न.१८३३—३१ नं र कनक समशेर बालुवाटार” भन्ने शब्दहरु थप गरिएको थियो ।
यस विषयमा मोहीको छोरी पूर्णमाया कुमालले आख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएपछि अख्तियार दुरुपयोगले मुद्दा तामेलीमा राखेपनि यसमा संलग्न कर्मचारीलाई कारबाही गर्न गरेको पत्राचार गरेको थियो। सो पत्रसहित पूर्णमाया पुन जिल्ला अदालतमा जाहेरी दिन पुगेपछि यो काण्डको उजागर हुन पुगेको छ ।
प्रचलित मूल्यमा ७ करोड ८४ लाख ५० हजार मूल्य पर्ने जग्गा खान गरिएको सरकारी कागज कीर्तेमा दोषी पाइएकोले जिल्ला अदालतबाट २०७२ पुस २७ मा थुनछेक आदेश हुँदा २ लाख धरौटी माग गरी पछि ठहरेबमोेजिम हुने फैसला भएको थियो । २ लाख धरौट नबुझाएर उहाँ त्यसबेला केही दिन डिल्लीबजार जेलमा बस्नुभएको थियो । त्यसको विरुद्धमा सर्वोच्च अदालत गएर उहाँले धरौटी रकम ५ हजार कायम गराई सो तिरेर जेलबाट छुट्नुभएको थियो ।
उहाँ डिल्लीबजार जेलमा बसेको बेलामा उहाँ बहुपत्नीको पनि मालिक भएको थाहा लागेको थियो । उहाँकी जेठी पत्नी संखुवासभामा स्टाफ नर्स हुनुहुन्छ ।
माहिलीको स्थानमा बैदेशिक रोजगारीमा गएका एक श्रमिक नेपालीका गोठ उठाउनु भएको थियो । उहाँले अरु पनि दुई पत्नी राख्नुभएको बताइन्छ, तर तिनीहरु साथमा छैनन् । उहाँ डिल्लीबजार खोरमा रहदा उहाँलाई भेट्न जानेलाई सुरक्षा कर्मीहरुले चार श्रमतीकोे पोई भनेर रेला गर्दथे ।
यसै मुद्दाको अन्तिम फैसलामा जिल्ला न्यायाधीश इश्वर पराजुलीले फैसलामा भन्नुभएको छ,“ ..तसर्थ कसुरदार देखिएका सबै कसुरदारलाई जनही रु ५०। –(पचास) रुपैयाका दरले जरिवाना हुन्छ साथै मुलुकी ऐनको कीर्ते कागजको महलको १२ नं बमोजिम प्रतिवादी मध्येका मोतिप्रसाद घिमिरे, युवराज कोइराला र हेमाद्री समशेरलाई जनही १ बर्ष कैद हुने ठहर्छ ।”
मालपोतको मिसिल जलाएको आशंका
कानून व्यवसायीको कालोकोटको आवरणमा गैर व्यवसायिक गतिविधिमा संलग्न रहदै आउनुभएका कृष्णप्रसाद भनिने युवराज कोइरालाले सुवर्ण समशेर जवराको राजा महेन्द्रले २०१७ सालमा कब्जा गरेको २९९ रोपनी ललिता निवासको जग्गा फिर्ता लिने क्रममा गृहमन्त्रालयको निर्णय र पत्राचारको आधारमा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंले सिर्जना गरेको मिसिल नं १०२४ र मिसिल नं.१०२५ को फाइल र पत्राचारका लिखतहरु त्यसबेला गृहमन्त्रालयमा कार्यरत गेहनाथ भण्डारी र युवराज कोइरालाको संयुक्त षड्यन्त्रमा जलाइएको बताइएको छ ।
त्रिताल समितिमा पनि उजुरीकर्ता र सहयोगीको भूमिकामा रहनुभएका युवराज कोइराला आफैले प्रमाण मासेको हुनाले सो समितिमा क्याबिनेटको निर्णयको आधारमा २०१७ सालपछि प्रजातन्त्र पुनस्थापनाको संघर्षमा लाग्दा घरजग्गा र सम्पत्ति हरणभएका राजनीतिक कार्यकर्ताहरुको घरजग्गा फिर्ता दिनेसम्बन्धमा क्याबिनेटको निर्णय सिधै मालपोत विभागले कसरी कार्यान्वयन गरायो भन्ने प्रश्न उठाएको छ । जबकी अन्य कागजातहरुले अन्तरिम मन्त्रिपरिषद्ले २०४७ जेठ १४, साउन ८ गते र भदौ ३ गते गरेको निर्णयको आधारमा गृहले छानवीन गरी गृहले भूमिसुधारलाई पत्राचार गरेर भूमिसुधारले मालपोत र गुठीसंस्थानलाई पत्राचार गरी सो जग्गा फिर्ता भएको देखिन्छ ।
गुठी संस्थानका प्रशासक बलिरामप्रसाद साह तेलीबाट २०६९ माघ ५ मा खडा भएको पर्चामा भनिएको छ,“ ..साथै तात्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालयको मिति २०४७।२।१४,२०४७।४।८ र २०४७ । ५।३ र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको मिति २०४७ । ६ । २ र मालपोत विभागको मिति २०४७ । ६।७ को पत्र अनुसार र निर्णय निर्देशनमा मालपोल कार्यालय डिल्लीबजारका मिति २०४९ ।७।२५ र मालपोत विभागको पत्रबाट स्व.सुवर्ण समशेर जबराका हकदारहरुले २०१७ सालको राजनैतिक परिवर्तनपश्चात तत्काल रोक्का जफत रहेको सुवर्ण समशेरका नामको दर्ता जग्गा निजका हकदारहरुले उल्लेखित तत्कालिन श्री ५ को सरकारको विभिन्न मितिका निर्णय समेतको आधारमा फिर्ता पाएको कुरा मालपोत कार्यालय काठमाडौंले जग्गा फिर्ता पाएको प सं ०४९।५० १०२४,१०२५ च.न ३२३४ मिति २०४९।९।२४ को पत्रबाट गुठी लगत तथा तहबील कार्यालयलाई जानकारी गराएको देखिन्छ ।..”
आफै धामी र आफै बोक्सीको रुपमा देखा पर्ने बहुरुपिया कृष्णप्रसाद उर्फ युवराज कोइराला जस्ता अदालतबाट कैद र जरिवाना पाएका अपराधीलाई ओली सरकारका कस्ता सल्लाहकार र प्रशासकले सल्लाहकार चयन गरी कांग्रेस कम्युनिष्ट का नेताहरुलाई खुईल्याएर राजा महेन्द्रका अधिनायकवादी र प्रतिगामी कदमलाई समर्थन गर्न लगाईरहेका छन् । यो विषय निकै रहस्यमय छ ।
भूमिसुधार र मालपोतका कर्मचारीसंग मिलेमतो गरी ढड्डासमेत सच्याउने दुस्साहसपूर्ण अपराध गर्ने २०७२ असार २५ गते भूमिसुधार कार्यालय काठमाडौंमा मालपोत कार्यालय काठमाडौंबाट २०४९ कार्तिक २५ र पुस २३ गतेको निर्णयबाट हदबन्दीभन्दा बढी जग्गा फिर्ता भएकोले त्यसको छानवीन गरी हदबन्दी बढीको जग्गा जफत गरी भूमिसम्बन्धी ऐन बमोजिम आफूलाई जग्गा पुरस्कार दिन निवेदन दिनुभएको थियो ।
राजा महेन्द्रले २०१७ सालमा जफत गरको सुवर्ण समशेरको ललिता निवासभित्रको २९९ रोपनी जग्गा मध्ये मोही लागेको ११२ रोपनी जग्गा फिर्ता भएपछि मोही छुट्टयाएर सुक्री विक्री हुँदा निज कोइरालाले जग्गाका क्रेताहरुसंग १७ रोपनी जग्गा माग्नुभएको मोहीहरु बताउछन् । नगद रुपैया प्रचलित बजारदरमा हालेर किनेको जग्गा दान बकस दिन नसकिने भनेपछि उहाँ एक संखुवासभाका शक्तिशाली सचिवको पाउमा पर्नुभयो र त्रिताल समिति बनाएर सुवर्णको व्यक्तिगत जग्गा सरकारी करार गरी त्यसबाट पुरस्कार खान अग्रसर हुनुभएको छ ।
यो प्रकरणमा संखुवासभाका कृष्णप्रसाद भन्ने युवराज कोइराला,संखुवासभाकै पूर्वसचिव शारदाप्रसाद त्रिताल, संखुवासभाकै पुख्यौली भएका गृहसचिव प्रेमकुमार राईको संलग्नता देखिनु, संखुवासभा राष्ट्रसेवक मञ्चका तीर्थ चापागाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान अधिकृत नियुक्त गरिनु र नेपाल सरकारले गरेका महत्वपूर्ण निर्णयहरुसहितको कागजात गृहमन्त्रालय र मालपोतबाट उछिट्टयाएर कब्जामा लिई जलाउने दुस्साहस गर्ने संखुवासभाकै गेहनाथ भण्डारीको सहकार्य पनि रहस्यमय छ । सुवर्णसमशेरको व्यक्तिगत सम्पत्ति राजमहेन्द्रले कब्जा गरेको विषयलाई अधिग्रहण गरको जलप लगाएर महेन्द्रलाई चोख्याउदै कांग्रेस कम्युनिष्टका संस्थापक देखि वर्तमानसम्मका नेताहरुलाई दोषी करार गर्न यो झुण्डलाई के ले प्रेरित गरिरहेको छ त्यो झन रहस्यमय छ ।
सरकारी जग्गाको दुरुपयोग र अतिक्रमणको वास्तविक छानवीन गर्ने हो भने लोकतान्त्रिक आन्दोलन दबाउन र पञ्चायतलाई कायम राख्न राजा महेन्द्रले मेचीदेखि महाकालीसम्म सित्तैमा बाडेको जग्गाको फेहरिस्त तयार पार्नुपर्ने खाँचो छ । त्यसो त सुकुम्बासीको नाममा वितरण गरिएका जग्गामा पनि धेरै नै बदमासी भएको छ । २५ वर्षअघि पनि तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले रामबहादुर रावलको संयोजकत्वमा गठन गरेको सार्वजनिकरसरकारी जग्गा छानबिन सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन सन्दर्भ सामग्रीसम्म हुन सक्ला तर राज्यको सरकारी जग्गा पञ्चायतकालमा बढी हिनामिना भएको थियो, त्यसको खोजी कसले गर्ने ?