काठमाडौं, १६ पौष । ग्रिगोरियन क्यालेण्डरको नयाँ बर्ष(जनवरी १) को अवसर पारेर नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौंको दशरथ रंगशालामा बिशेष कार्यक्रम र देशका सात वटै प्रदेशमा विभिन्न औपचारिक कार्यक्रम गरी भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको हो ।
सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा वर्ष २०२० लाई लिएको छ ।
काठमाडौंको दशरथ रंगशालामा भएको भ्रमण वर्षको विशेष समुद्घाटन समारोहमा दीप प्रज्वलन र भ्रमणवर्षको प्रतीक यतिको अनावरण गरी राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारिक शुभारम्भ गर्नुभएको हो ।
भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैको सहयोगमा महाअभियानको रुपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले पर्यटन क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रमहरु ल्याउन पनि सरकार र सम्बद्ध व्यवसायीसमक्ष आग्रह गर्नुभयो ।
नेपाल सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविधायुक्त मुलुक भएकोले यहाँ सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने प्रचूर संभावना रहेको उहाँले बताउनुभयो ।
संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकोले नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरुलाई आह्वान पनि गर्नुभयो।
कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिलाई बिगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताउनुभयो।
पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिवद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उहाँले बताउनुभयो।
त्यस्तै शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको आधार नै पर्यटकको बृद्धिबाट आउने भएकोले भ्रमण वर्षले राष्ट्रिय संकल्प पूरा गर्न निकै सघाउ पुग्ने बताउनुभयो ।
मन्त्री भट्टराईले नेपाल संसारकै एक अद्धितीय प्राकृतिक,सांस्कृतिक,ऐतिहासिक र पुरातातात्विक तथा धार्मिक सम्पदा भएको मुलुक भएकाले नेपाल भ्रमणमा आएर यात्राको मज्जा लिन विश्व समुदायलाई आग्रह गर्नुभयो ।
उहाँले नेपालको प्रकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, धार्मिक क्रियाकलापका कारण नेपाल सबै सिजनमा पर्यटकका लागि उत्तिकै आकर्षण रहने बताउनुभयो ।
विश्वका सबैभन्दा बढी उचाई भएका हिमालहरु नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दीरहरु, विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरु हेर्न पनि नेपाल आउनुपर्ने बताउनुभयो ।


















