Prakash Adhikari January 3, 2020

 

काठमाडौं,१८ पौष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ ।
शुक्रबार बिहान बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार बन्नुहुने छ।

नेकपाको सचिवालयले प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल उम्मेवार बनाउने निर्णय गरेको छ ।

गण्डकी प्रदेशमा महिलाबाट भगवती न्यौपाने र अन्यबाट नारायणकाजी श्रेष्ठ उम्मेदवार हुनुहुने भएको छ ।

यस्तै प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

राष्ट्रियसभा निर्वाचन आगामी माघ ९ गते हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार यही पुस २० गते उम्मेदवारी दर्ता हुनेछ ।

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिदै छ ।

राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था भएकोले निर्वाचन आयोगले माघ ९ गते निर्वाचन गर्दैछ ।

Share Now

Leave a comment.