Prakash Adhikari January 3, 2020

तेहरान(इरान),१८ पौष(बीबीसी) । अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि इरानका सर्वोच्च नेताले ‘अपराधीहरूमाथि कडा बदला’ लिने बताएका छन्।

शुक्रवार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

इरानले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ भने रक्षामन्त्री जावेद जारिफले सो घटनालाई अन्तर्राष्ट्रिय आतङ्कवाद भनेका छन्।

अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ‘राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ।

बग्दादको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कारका रहेका सुलेमानी अमेरिकी आक्रमणमा मारिएका हुन्

इरानको लागि सुलेमानी महत्वपूर्ण व्यक्ति थिए र उनले सिधै सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको नेतृत्वमा काम गर्थे।

जनरल सुलेमानी कारमा रहेको बेला अमेरिकी हवाई आक्रमणमा मारिएका हुन्।

इरानका विदेशमन्त्री जावेद जारिफले सो आक्रमणलाई ‘धेरै नै खतरनाक र मूर्खतापूर्ण’ भनेका छन्।

इरानको रिभोलुशनरी गार्ड्सले शुक्रवार सुलेमानीको मृत्यु भएको पुष्टि गरेको त्यहाँको राज्यनियन्त्रित टीभीले बताएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सुलेमानी र इरानसमर्थित विद्रोही नेताहरू दुईवटा कारमा विमानस्थलबाट निस्कदै गर्दा आक्रमणमा परेका थिए।

जनरल कासिम सुलेमानी
जनरल कासिम सुलेमानी

सुलेमानी सिरिया वा लेबननबाट इराक आएको बताइएको छ।

कार्गो क्षेत्रमा अमेरिकी ड्रोनले केही क्षेप्यास्त्र प्रहार गरेको र कम्तीमा पाँच जना मरेको बताइएको छ।

अमेरिकाले के भन्यो?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनापछि अमेरिकाको झण्डा ट्वीट गरेका छन्।

एउटा विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले भनेको छ: “राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले कासिम सुलेमानीलाई मारेर विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि निर्णायक रक्षात्मक कारबाही गरेको छ।”

“यो कारबाही भावी इरानी आक्रमण योजनालाई कमजोर बनाउन लक्षित थियो।”

“अमेरिका आफ्ना नागरिक र आफ्ना चासोका विषयको संसारभर रक्षा गर्ने कार्य गरिरहने छ।”

इरानले के भन्यो?

रक्षामन्त्री जारिफले आक्रमणलाई अन्तर्राष्ट्रिय आतङ्कवाद भनेका छन्।

“यो घटनाले उब्जाएको परिस्थितिको पूर्ण जिम्मेवार अमेरिका हुनेछ,” उनले ट्वीट गरेका छन्।

इरानी टीभीले सो आक्रमणमा इराकी विद्रोही नेता अबु महदी अल-मुहान्दीस पनि मारिएको समाचार प्रसारण गरेको छ।

समाचारहरूमा अमेरिकी सेनाले इराकका केही विद्रोही नेताहरूलाई नियन्त्रणमा लिएको भनिएपनि त्यसको पुष्टि भएको छैन।

बग्दादमा रहेको अमेरिकी राजदूतावासलाई केही प्रदर्शनकारीले घेरा हालेको र अमेरिका सेनासँग मुठभेड भएको केही दिनपछि यो आक्रमण भएको हो।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले बिहीवार बेलुकी राजदूतावासको घटनाका लागि इरान जिम्मेवार रहेको बताउँदै अमेरिकी नागरिकमाथिको आक्रमण नसहने बताएका थिए।

कासिम सुलेमानी को हुन्?

सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो।

सो दस्ताले देश बाहिर गोप्य गतिविधिहरू गर्ने बताइएको छ।

जनरल सुलेमानीले सिरियामा बसार अल-असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेका थिए।

उनले सन् १९८० को दशकमा भएको इरान-इराक युद्धमा लडेका थिए।

Share Now

Leave a comment.