Prakash Adhikari January 3, 2020

विष्णु पोखरेल/ बीबीसी न्यूज नेपाली

काठमाडौं,१८ पौष । भिडन्त वा दुर्घटनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्।

हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ।

तर कतिपय मृतक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्।

भारतले भने भिडन्तमा मारिनेहरूलाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृतकका परिवारलाई बोलाएर अन्त्येष्टि गरिदिने गरेको छ।

भिडन्तमा मारिनेहरूको अन्त्येष्टिमा भारतीय सेनाले त्यहाँको राष्ट्रिय झण्डा ओडाउनुका साथै सलामी दिने गरेको भूतपूर्व भारतीय गोर्खाहरू बताउँछन्।

उनीहरूका अनुसार सेनामा कार्यरत नेपाली नागरिकका परिवारले शव नेपाल ल्याउन चाहे भने चाहिँ सहज छैन।

तर कतिपयले निकै जोडबल गरेर शव नेपाल नै ल्याएको उदाहरण रहेको संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ नेपालका महासचिव कुलबहादुर केसी बताउँछन्।

उनी भन्छन्, “सबैभन्दा ठूलो पीडा परिवारलाई हुन्छ र उसको परिवारले अन्तिम संस्कार गर्न नपाउनु भनेको निकै दुखदायी कुरा हो।”

“त्यसैले हामीले भारत सरकारलाई यसबारे पटकपटक अनुरोध गरेका छौँ।”

नेपालमा विरोध हुने डर
केसीका अनुसार भारतीय झण्डा ओडाउने र भारतीय सेनाले सलामी दिनुपर्ने हुँदा नेपालमा गर्दा विरोध हुनसक्ने प्रति भारत सचेत छ।

केसी भन्छन्: “ती कार्य गर्दा नेपाली भूमिमा विरोध हुनसक्छ, त्यसैले नेपाल सरकारले अनुमति दिए हामी शव नेपालमै पुर्‍याउने व्यवस्था गरिदिन्छौँ भन्ने खालको कुरा भारत सरकारबाट आएको छ।”

गत बुधवार जम्मू-कश्मीरमा खटिएका भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगरको दोहोरो भिडन्तमा निधन भएपछि भूतपूर्व भारतीय गोर्खाहरूले माग दोहोर्‍याएका हुन्।

बुधवार मारिएका थापामगरको पनि नेपालको पूर्वी सीमाक्षेत्र नजिकै रहेको एउटा भारतीय सेनाको शिविरमा अत्येष्टि गर्नका लागि परिवारका सदस्यहरूलाई बोलाइएको बताइएको छ।

भूतपूर्व भारतीय गोर्खाहरूले करिब डेढ महिना अघि भारतका स्थल सेना प्रमुख र गृहमन्त्रीलाई भेटेर पनि आफ्नो माग राखेको बताएका छन्।

उनीहरूका अनुसार स्थल सेना प्रमुख विपिन रावत र गृहमन्त्री अमित शाह मागमा सकारात्मक छन्।

रावतलाई भारत सरकारले दुई दिन अघि भारतका तीनवटै सेनाको प्रमुख रहने गरी चीफ अफ डिफेन्स स्टाफ नियुक्त गरेको छ।

नयाँ व्यवस्था

गत नोभेम्बरमा भएको उक्त भेटमा सहभागी महासंघका उपाध्यक्ष किशोरकुमार राई भन्छन्, “उहाँहरूले अब नेपालीहरूलाई नजिक पर्ने सीमा क्षेत्रको भारतीय आर्मी क्याम्पसम्म शव पठाएर त्यही अन्त्येष्टि गर्ने व्यवस्था मिलाइदिने आश्वासन दिनु भएको छ।”

यसअघि प्राय: भारतमा मारिने भारतीय सेनामा कार्यरत नेपाली नागरिकको अन्त्येष्टि गङ्गा नदी तटमा हुने गरेको भूतपूर्व गोर्खाहरू बताउँछन्।

भारतीय गोर्खा
गत नोभेम्बर २२ तारिखमा दिल्लीमा तत्कालीन भारतीय स्थल सेनाका प्रमुख विपिन रावतसँग भेटघाट गर्दै भूतपूर्व भारतीय गोर्खाका प्रतिनिधिहरू
उक्त भेटमा केसी र राईसहित भूतपूर्व गोर्खाहरूका सातजना प्रतिनिधि सहभागी थिए।

उनीहरूले आफ्नो मागबारे भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई पनि जानकारी गराएको बताए।

उनीहरूले नेपाल र भारत दुवैतर्फका सरकारहरूलाई यस्तो माग राखेका भए पनि त्यसको सुनुवाइ नभएको बताए।

भूतपूर्व भारतीय गोर्खा सैनिकहरूको अर्को संस्था अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संघले पनि २०७४ साल माघमा अन्य विभिन्न मागहरूका साथमा मृतकको शव नेपाल ल्याउन पाउनुपर्ने भन्दै भारत सरकारसमक्ष माग राखेको थियो।

नेपालस्थित भारतीय दूतावासमार्फत् त्यस्तो माग राखिए पनि त्यसबारे सुनुवाइ नभएको उनीहरू बताउँछन्।

उक्त मागबारे दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले भने ‘थप अध्ययन र छलफल आवश्यक रहेको’ भन्दै प्रतिक्रिया दिन चाहेनन्।

भारतीय गोर्खा
अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संघले राखेको माग
भारतीय सेनामा कति नेपाली?
भारतीय सेनाको कुमाउँ रेजिमेन्टमा ३४ वर्ष काम गरेका अवकाशप्राप्त कर्नेल धनबहादुर थापाले बीबीसीलाई गत अगस्टमा दिएको जानकारी अनुसार भारतीय सेनामा हाल करिब ५० हजार गोर्खा कार्यरत छन्।

त्यसमा ६० प्रतिशत नेपाली नागरिक र ४० प्रतिशत भारतीय नागरिक भइसकेका नेपालीभाषी छन्।

तर भारतीय सेनामा कार्यरत नेपाली नागरिकको सङ्ख्याबारे नेपाल सरकारसँग आधिकारिक तथ्याङ्क नरहेको बताइन्छ।

Share Now

Leave a comment.