Prakash Adhikari January 3, 2020

 

काठमाडौं, १८ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डायलासिसको लागि अस्पताल लगिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उहाँलाई शुक्रबार अपरान्ह त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ लगिएको जानकारी दिनुभएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई मनमोहन लगिएको हो ।

प्रेस सल्लाहकार थापाले नियमित डायलासिस गरेर प्रधानमन्त्री ओली आजै बालुवाटर फर्किने बताउनुभएको छ ।

१२ वर्षअघि भारतमा प्रत्यारोपण गरिएको मृगौलाले नियमित काम सुचारु गर्न नसकेपछि गत साउन महिनामा उहाँको सिंगापुरमा स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसको केही समयमा नै भाद्रको पहिलो हप्ता सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा भर्ना भएर प्लाज्मा फेरोसिस विधिबाट शरीरमा रहेको एण्टिबडीलाईको उपचार गरेपछि त्यसको अनुगमन उपचार नेपालमा नै हुँदै आएको छ ।

शरीरको एण्टिबडी शून्यमा नझरीकन पुन मृगौला प्रत्यारोपण सफल नहुने भएकोले प्रधानमन्त्रीको नियमित डायलासिस थालिएको हो ।

गत कार्तिक महिनादेखि नियमित डायलासिस गर्नुभएका प्रधानमन्त्रीले धापासीस्थित ग्राण्डि अस्पताल र मनमोहन सेन्टरमा योसहित १२ औं पटक डायलासिस हुनेछ ।

१२ बर्ष पहिले मृगौला प्रत्यारोपण गर्दा शरीरमा मृगौला रोग र त्यसको असरबाहेक नरहेको भए पनि हाल प्रधानमन्त्रीमा बृद्धावस्थाका कारण अनेकौ रोगका असर देखिएकोले मृगौला प्रत्यारोपण जोखिमयुक्त मानिएको छ ।

उहाँको स्वास्थ्योपचारमा सक्रिय चिकित्सकहरुले डायलासिसलाई नै जोखिमरहित उपचार पद्धतिको रुपमा स्वीकार गरी यसैमार्फत स्वास्थ्योपचार गरिरहेका छन् ।

यस अगाडि पौष  ११ गते प्रधानमन्त्री ११ औं डायलासिसको लागि मनमोहन सेन्टर पुग्नुभएको थियो ।

Share Now

Leave a comment.