काठमाडौं, २३ पौष । सामना बैंकिड. पुरस्कार गुठीबाट विभिन्न व्यक्तित्वहरु पुरस्कृत हुनुभएको छ ।
बुधबार राजधानीमा आयोजित गुठीको साधारण सभाको अवसरमा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय समशेर जबराले सामना पत्रकारिता पुरस्कार र गुठीद्धारा स्थापित रेवत बैंकिड. छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।
बुधबारै बसेको गुठीको साधारण सभाले यस बर्षको सामना बैंकिड. पत्रकारिता पुरस्कार कान्तिपुरका पत्रकार यज्ञ बञ्जाडेलाई र रेवत बैंकिड. छात्रवृत्ति त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र केन्द्रीय विभागको पहिलो बर्ष वा सेमेष्टरमा उच्चतम् अंक ल्याउने सुदीप घिमिरे(२०७१), तिलकसिंह महरा(२०७२),मानवप्रकाश पौडेल(२०७३)लाई दिने निर्णय गरेको थियो ।
सामना पत्रकारिता पुरस्कारको राशी रु २५ हजार रहेको छ भने रेबत छात्रवृत्तिको राशी १५ हजार रहेको छ ।
पुरस्कृत व्यक्तिहरुलाई गुठीले प्रमाणपत्र पनि प्रदान गरेको छ ।
बैंकिड. तथा वित्तीय क्षेत्रमा उच्चकोटीका अनुसन्धानात्मक ग्रन्थहरुको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गर्ने उद्देश्यले अर्थविद् डा. रेवतबहादुर कार्कीले आफ्नी कान्छी सुपुत्री सामना कार्कीको नाममा २०६२ सालमा सामना पुरस्कार गुठीको स्थापना गर्नुभएको थियो । सामना सुस्त मन: स्थितिमा हुनुहुन्छ ।
सामना पुरस्कार गुठीले चार विधालाई समेटेको छ ।
बैंकिड. तथा वित्तीय क्षेत्रको अनुसन्धानात्मक ग्रन्थ तथा विश्लेषणात्मक पुस्तक लेख्ने तथा प्रकाशन गर्ने एक व्यक्तिलाई २०६६ सालदेखि प्रत्येक २ बर्षमा रु ५० हजारको बैकिड. पुरस्कार प्रदान गर्न थालिएकोमा २०७५ सालमा यसको राशी बृद्धि गरी रु ७५ हजार पुर्याइएको छ । तर यसपटक उत्कृष्ट पुस्तक प्राप्त नभएकोले गुठीले यस विधामा पुरस्कार दिन नपाएको पुरस्कार मूल्यांकन समितिका संयोजक कृष्ण प्रधानले कार्यक्रममा बताउनु भएको थियो ।
यस पुरस्कारबाट हालसम्म ६ जना लेखक पुरस्कृत भैसक्नुभएको छ । पहिलो पुुरस्कार डा. रमा बस्याल र पत्रकार भरत भूत्र्याल(मरणोपरान्त) दिइएको थियो । दोस्रो पुरस्कार राजन बिक्रम थापा र दीर्घबहादुर रावललाई दिइयो । तेस्रो पुरस्कार भोलाराम श्रेष्ठ र देवेन्द्रबहादुर राउतलाई दिइयो भने चौथो पुरस्कार २०७३ सालमा डा परासर कोइरालालाई प्रदान गरिएको थियो ।
२०७० सालदेखि प्रत्येक दुईबर्षमा दिन थालिएको सामना पत्रकारिता पुरस्कारबाट हालसम्म पत्रकार लोकबहादुर चापागाई र हिमाल न्यौपाने पुरस्कृत भईसक्नुभएको छ । सुरुमा रु १५ हजार रुपैयाको पुरस्कार राशी राखिएकोमा यस बर्षदेखि २५ हजार पुर्याईको छ । गुठीले यसपछि छापा र विद्युतीय सञ्चारमाध्यममा एक एक जनालाई पुरस्कृत गर्ने नीति लिएको छ ।
त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको पहिलो वर्ष वा सेमेष्टरमा उच्चतम् अंक हासिल गर्ने मेधावी विद्यार्थीलाई दिइने रेवत बैंकिड. छात्रवृत्तिको सुरुआत २०६३ सालदेखि भएको हो । प्रत्येक २ बर्षमा दिइने यस पुरस्कारको राशी सुरुमा १० हजार रुपैया राखिएको थियो । गुठीले २०७३ मा यस छात्रवृत्तिको राशी पनि रु १५ हजार पुर्याएको छ । यस छात्रवृत्तिबाट हालसम्म खगेन्द्र कटुवाल(२०६३), कमला तिमिल्सिना(२०६४),भरतबहादुर थापा(२०६५), अर्जुनबहादुुर पाठक(२०६६),अश्लेष श्रेष्ठ(२०६८),धर्मेन्द्र तिमिल्सिनाा(२०६९) पुरस्कृत भैसक्नुभएको छ ।
गुठीले लघुवित्तको विकासमार्फत नेपालको गरिबी निवारण र तल्लोतहमा बैंकिड. पद्धति पुर्याउन सघाउने व्यक्ति तथा सस्थालाई पनि २०६८ देखि सम्मानित गर्न थालेको छ । पहिलो पटक यस सम्मान लघुवित्तको क्षेत्रमा काम गर्ने डा.हरिहरदेव पन्तलाई दिइएको थियो भने र २०७३ सालमा पिताम्बरप्रसाद आचार्य तथा योगेन्द्र मण्डललाई संयुक्त रुपमा सम्मानित गरिएको थियो ।
सामना पुरस्कार गुठीका संस्थापक डा. रेवतबहादुर कार्कीको सभापतित्वमा सञ्चालित गुठीको साधारण सभा तथा पुरस्कार वितरण समारोह कार्यक्रमको प्रमुख अतिथि नेपालका प्रथम गभर्नर हिमालय समशेर जबरा हुनुहुन्थ्यो ।
सभालाई प्रमुख अतिथि प्रथम गभर्नर हिमालय समशेर जबरा, पूर्व गभर्नर गणेशबहादुर थापा,त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागकी प्रमुख कुसुम शाक्य, नेपाल आर्थिक संघका अध्यक्ष प्रा. डा.विश्वम्भर प्याकुर्याल, पुरस्कार चयन समितिका सदस्य तथा सेजनका अध्यक्ष भीम गौतम, पुरस्कृत व्यक्तित्वहरु यज्ञ बञ्जाडे र सुदीप घिमिरेले सम्बोधन गर्नुभएको थियो ।
साधारण सभामा गुठीका अध्यक्ष डा.कार्कीले आ.ब. २०७५।७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कपिलदेव अधिकारीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नभएको थियो । गुठीका सचिव उपेन्द्र कार्कीबाट सञ्चालित कार्यक्रममा उपाध्यक्ष अम्बिका कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।