अजमान(संयुक्त अरब इमिरेट्स), १ माघ । दृष्टिबिहिन एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियामाथि रवाफिलो जित निकाल्दै नेपाली टोलीले प्रतियोगिताको सुखत अन्त्य गरेको छ ।
सोमबार अजमानमा भएको खेलमा नेपालले लिगको अन्तिम खेलमा अस्ट्रेलियामाथि ८ विकेटको सहज जित निकालेको हो ।
टस जितेर अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ९७ रनको लक्ष्य नेपालले २२ बल अगावै २ विकेटको क्षतिमा पूरा गरेको थियो ।
अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा नेपालको जितमा बलिङ र ब्याटिङ दुवै उत्कृष्ट रह्यो । नेपाललाई जित दिलाउन पदम बडेलाले शतकीय पारी खेले । पदमले १ सय २५ रनको अविजित पारी खेले ।
बद्री चौलागाईले ३५ रनमा अविजित रहँदा नेपालले सहज जित हात पार्यो । । तेस्रो विकेटका लागि बद्री र पदमले १ सय ३७ रनको बलियो साझेदारी गरेका थिए । त्यसअघि ओपनरद्वय रमेश बानियाँ ४७ रन र खिमानन्द गैरी १७ रनमा रनआउट भएका थिए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नरेश थारु पनि ३६ रनमा रिटायर्ट हर्टको शिकार भए । अस्ट्रेलिया निकै तिब्र गतिमा बलिङ गरे पनि नेपाली ब्याट्सम्यानले सबै चुनौती निस्तेज पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ३६.२ ओभरमा २ सय ९६ रनमा अलआउट भयो ।
नेपाललाई ब्रेक थ्रु दिलाएका दुर्गादत्त पौडेलको बलिङ अष्ट्रेलियाको पारीमा घातक साबित भयो ।
अस्ट्रेलियाको लागि स्टेफन नेरोले ६३ रन र म्याट क्यामरुनले ६२ रनको योगदान दिए पनि आफ्नो टोलीको जितका लागि पर्याप्त रहेन ।
स्टेफन रमेश बानियाँद्वारा रनआउट हुँदा म्याटलाई उपकप्तान विक्रमबहादुर रानाले क्लिन बोल्ड गर्दै पभेलियन फर्काएका थिए ।
ड्यानिएल प्रिचार्ट पनि ४० रन रमेशद्वारा रनआउट हुँदा लिन्ड्से हेभनलाई ३८ रनमा दुर्गादत्तले क्लिन बोल्ड गरे । १० ओभरमा ९२ रन हुँदा पहिलो विकेट गुमाएको अष्ट्रेलिलियन पारीलाई नेपाली फिल्डरले ५ रनआउट गराउँदा धरासायी पारेका थिए । नेपालको बलिङमा दुर्गादत्तले ३ विकेट लिँदा विक्रमबहादुर र भरत थापाले समान १–१ विकेट निकाले ।
नेपालले २३ अतिरिक्त रन खर्चिएको थियो । नेपालको जितमा शतकीय पारी खेलेका पदम बडेला म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ सय दिराम र ट्रफी हात पारे ।
कप्तान किर्तन र उपकप्तान विक्रमको सन्यास
विश्वकपको अन्तिम खेलमा अस्ट्रेलियामाथि जित निकालेपछि नेपाली टिमका कप्तान किर्तन श्रेष्ठ दुवाल र उपकप्तान विक्रमबहादुर रानाले सन्यासको घोषणा गरेका छन् । उनीहरुले संघका अध्यक्ष पवन घिमिरे र प्रशिक्षक रिजन प्रजुको रोहबरमा सन्यासको घोषणा गरेका हुन् ।
नेपालमा दृष्टिबिहिन क्रिकेट सुरु हुँदा नै नेपाली टोलीमा रहेका विक्रम र किर्तनले नयाँ युवा खेलाडीलाई अवसर दिन आफूहरुले सन्यास लिएको बताए । वि..स २०६३ सालमा नेपालमा दृष्टिबिहिन क्रिकेट सुरु हुँदा खेल्न सुरु गरेका विक्रमले दुई टी–२० विश्वकप क्रिकेट र एकदिवसीय विश्वकपमा खेलेका छन् ।
किर्तनले एक टि–२० विश्वकप र एकदिवसीय विश्वकप क्रिकेट खेलेका छन् । उनीहरु दुवै नेपाली दृष्टिबिहिन क्रिकेटका महत्वपुर्ण सदस्य रहेकाले दुवैको अभाव खड्किने संघका अध्यक्ष घिमिरेले बताए । विक्रमबहादुर र किर्तनले आगामी दिन आफूहरु खेलाडी उत्पादनमा लागि पर्ने बताए ।