काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक महिनाभन्दा लामो छलफल पछि अन्ततः अग्नि सापकोटा सभामुखको उम्मेदवार बन्ने भएका छन्।
दुई अध्यक्षहरूको आइतबार बिहानको कुराकानीमा जुटेको सहमतिलाई अपरान्ह सचिवालय बैठकले अनुमोदन गरेको हो।
पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख पद तानातान हुँदा प्रतिनिधि सभाको बैठक एक महिनादेखि बस्न सकेको छैन।
सोमवारका लागी बोलाइएको बैठकको कार्यसूचीका रूपमा सभामुखको निर्वाचन राखिएको छ।
सभामुख पदमा नेकपाले आफ्नो उम्मेदवार तय गरेसँग उपसभामुख शिवमाया तुम्बाहाङ्फेको पनि उपसभामुख पद खोसिने भएको छ।
सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने संवैधानिक व्यवस्थाका कारण उनले उपसभामुख पदबाट राजीनामा दिनुपर्ने छ।
उनले राजीनामा नदिए नेकपाले सभामुख पदका लागि उम्मेदवारी दिन पाउने छैन।
सभामुख पदको दावेदारी गर्दै आएकी तुम्बाहाङफेलाई सापकोटाको नाममा सहमति जुटाएपछि राजीनामाका बारेमा कुरा गर्न अध्यक्ष केपी ओलीले तुम्बाहाङ्फेलाई बोलाएका थिए।
ओलीसँगको भेटपछि तुम्बाहाङफेले कुनै प्रतिक्रिया दिएकी छैनन्।
नेकपा महासचिव विष्णु पौडेलले भने: “उहाँले राजीनामा गर्नु हुन्छ भन्ने विश्वास लिएका छौँ। सचिवालयले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरी सकेको छ।”
उपसभामुख फरक पार्टीको हुने भए पनि कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने बारेमा नेकपाले कुनै निर्णय गरेको छैन।
प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सभामुख र उपसभामुख पदको उम्मेदवारीका बारेमा निर्वाचन कार्यतालिका प्रकाशन भएपछि मात्रै निर्णय लिने बताएको छ।
प्रतिनिधिसभामा नेकपाको स्पष्ट बहुमत छ। (बीबीसीबाट )