Prakash Adhikari January 16, 2018

काठमाडौं, २ माघ । जाडोबाट प्रभावित तराईका जिल्लामा सरकारले उपलब्ध गराउने घोषणा गरेको राहत हालसम्म पीडितसमक्ष पुग्न नसकेको स्थानीय अधिकारीहरुले बताएका छन्।

सरकारले करिब २ साता अगाडि जाडोबाट पीडितहरुलाई राहत उपलब्ध गराउने भनेको थियो।

पुसको दोस्रो सातादेखि नै तराई क्षेत्रमा लाग्न थालेको बाक्लो हुस्सु र त्यसबाट उत्पन्न जाडो स्थितिले कतिपयको ज्यान समेत गइसकेको स्थानीय अधिकारीहरुले बताएका छन्।

गत वर्षा याममा बाढीको चपेटामा परेका मध्ये कैयौं यसपाली पुनस् जाडोको कष्ट झेल्न वाध्य भएका छन्।

जनकपुरस्थित समाचारदाता बृजकुमार यादव भन्छन्, ‘तराईमा शीतलहर चलेकोले साँझैदेखि बाक्लो कुहिरो लाग्ने र रातभरि मोटो शीत खस्ने गरेको छ।’

उनका अनुसार आक्कलझुक्कल बाहेक घाम नलागेको तीन हप्ताभन्दा बढी भइसक्यो।

प्रदेश नम्बर २ मा चिसो बढेसँगै ४० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

ढिलाइ

सरकारले जाडोबाट मानिसहरुलाई जोगाउन १८ जिल्लामा तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको २ हप्ता बित्न लाग्दा पनि चिसो प्रभावितहरुले राहत पाएका छैनन्।

रौतहट र सप्तरी जिल्लामा बाढीबाट विपन्न वस्तीहरुको सयौँ घर बगेको थियो।

प्रभावितहरु अझै पनि पाल र अस्थायी टहरा बनाएर बस्दै आएका छन्।

रौतहटका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले राहतको पत्र आएपनि रकम आई नपुगेको बताए।

उनले भने, ‘केन्द्रबाट चिठ्ठी आएको छ तर राहत आएको छैन। हामी विभिन्न स्थानबाट आएका न्यानो कपडा र अन्य स्रोतसाधन नगरपालिकासँग मिलेर वितरण गरीरहेका छौं।’

रौतहटमा १६ जनाको जाडोको कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

सप्तरी जिल्लामा पनि सरकारी राहत वितरण भएको छैन। प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले राहत वितरणको तयारी भइरहेको बताए।

सप्तरीमापनि १६ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन्।

सरकारले जाडोबाट जोगाउन प्रभावित जिल्लाहरुमा १० लाखको रुपैयाँको दरले र बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण प्राधिकरणले प्रति परिवार २५ हजार रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिबाट उपलब्ध गराउने निर्णय गरेको थियो।
(बबिीसी नेपाली सेवाबाट)

Share Now

Leave a comment.