काठमाडौं, १४ माघ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा डा. धनञ्जय रेग्मी छनोट हुनुभएको छ।
नेपाल पर्यटन बोर्डका अध्यक्ष रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको सभापतित्वमा बसेको बोर्डको बैठकले रेग्मीलाई सीईओका लागि छनोट गरेको हो।
यस पहिले बोर्डले गठन गरेको प्रमुख कार्यकारी अधिकृत छनोट उपसमितिले डा. धनञ्जय रेग्मी, हिक्मतसिंह ऐरी र दिपक बस्ताकोटीको जनाको नाम सिफारिस गरेको थियो ।
निवर्तमान दीपकराज जोशीको कार्यकाल सकिएपछि गत मंसिर १८ गते विज्ञापन खुलाइएको थियो। विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए।
त्यसमध्ये उपसमितिले काशीराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, डा. धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम संक्षिप्त सूचीमा छनोट गरेको थियो।
नेपाल पर्यटन बोर्डको सीईओको कार्यकाल चार वर्षको हुन्छ।
स्याङ्जामा जन्मिएका डा. रेग्मी नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । डा. रेग्मीले सन् २००६ मा जापानको सापोरो स्थित होक्काइयो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गर्नुभएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भूगोल समाजका अध्यक्षका रुपमा कार्यरत डा. रेग्मी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका पनि अध्यक्ष हुनुहुन्छ।
नेपालमा दिगो पर्यटन विकासको बारेमा अनेकौं अनुसन्धान गरिसक्नुभएका डा. रेग्मीको अनुभव बोर्डमा व्यवहारमा प्रयोग हुने अवसर प्राप्त भएको छ ।
पर्यटन विकासको लागि दीर्घकालसम्म महत्व राख्ने रणनीति र उपयुक्त कार्यक्रम तयार गरी कार्यान्वयनमा लैजाने उहाँको इच्छा रहेको छ ।
सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना गरिएको यो नमूना संस्था हो ।
विगतमा निकै आरोह अवरोह पार गरेको बोर्डले डा. रेग्मीको कार्यकालमा थप गति र दिशा लिने अपेक्षा गरिएको छ ।


















