काठमाडौं, २ माघ । निर्वाचन आयोगले मंगलबार दिउसो राष्ट्रियसभा निर्वाचनको विषयलाई लिएर प्रमुख राजनीतिक दलसँग छलफल गर्दैछ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दिएको जानकारी अनुसार राष्ट्रियसभा निर्वाचनको सञ्चालन र व्यवस्थापन सम्बन्धमा छलफलका लागि आयोगले राष्ट्रिय मान्यता पाउने स्थितिमा रहेका एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका नेतालाई ुदिउँसो १ बजे आयोगको कार्यालय कान्तिपथमा छलफलका लागि बोलाएको छ ।
निर्वाचन आयोगले माघ २४ गते निर्धारित राष्ट्रियसभा चुनावलाई सम्पन्न गर्नका लागि दलहरुसंग मतपत्रका विषयमा परामर्श लिनेछ भने प्रदेश प्रमुख नियुक्त गरी छिटो शपथ ग्रहणको वातावरण तयार पार्न पनि आग्रह गर्नेछ ।
प्रदेश प्रमुखको नियुक्तिमा बिलम्ब भएकोले प्रदेशसभामा निर्वाचित सदस्यहरुको शपथग्रहणमा बिलम्ब भएको र उनीहरुलाई समावेश गरी राष्टिय सभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गर्न आयोगलाई असहज भएको गुनासो आयोगले गर्दै आएको छ ।
प्रदेश प्रमुखको टुंगो नलागेकोले आयोगले दलहरुलाई प्रदेशसभाको अन्तिम परिणाम घोषणा गरी बुझाउन पनि पाएको छैन ।
प्रदेश र प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक गर्न विलम्ब भएकोमा आलोचना खेपिरहेको आयोगले दलहरुसँग छलफल गरी संघीय तथा प्रा देशिक सरकार गठन र संसद संचालनको बिलम्बमा आयोग नभएर दलीय सहमतिको अभाव जिम्मेवार भएको सन्देश दिन खोजिरहेको छ ।