वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका),१९ माघ (बीबीसी) । महाभियोग सुनुवाइका क्रममा साक्षी र थप प्रमाण झिकाउने मागको विपक्षमा सिनेटरहरूले मतदान गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सफाइ पाउने बाटो खुला भएको छ।
डेमोक्र्याट सांसदहरूले चार रिपब्लिकन सांसद महाभियोगको पक्षमा उभिने आशा गरेका थिए। त्यसबाट सुनुवाइ लम्बिन सक्थ्यो।
तर चारमध्ये केवल दुई रिपब्लिकनहरूले मात्र डेमोक्र्याटहरूसँग मतदान गरे।
अब राष्ट्रपति ट्रम्पलाई सफाइ दिने विषयमा मतदान हुनेछ। त्यसमा उनले जित्ने निश्चित छ।
ट्रम्पको रिपब्लिकन पार्टीका शीर्षस्थ सदस्यहरूले सुनुवाइको गति तीव्र बनाउन प्रत्यक्षदर्शी र नयाँ प्रमाण अस्वीकार गरेका हुन्।
उनीहरू राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई सुनुवाइमा झिकाउने कुरा पन्छाउन चाहन्थे।
न्यूयोर्क टाइम्सका अनुसार बोल्टनले आफ्नो प्रकाशोन्मुख पुस्तकमा ट्रम्पले डेमोक्र्याट नेता जो बाइडनको छवि बिगार्ने उद्देश्यले युक्रेनलाई दिने सैन्य सहायता निलम्बन गर्न आफूलाई सीधै निर्देशन दिएको उल्लेख गरेका छन्।
ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र कङ्ग्रेसलाई छानबिनमा बाधा पुर्याएको दुईवटा अभियोग लगाइएको छ।
डेमोक्र्याटहरूमा सम्भावित विभाजन
अन्तिम मतदान आगामी साता फेब्रुअरी ५ मा हुनेछ।
ट्रम्पलाई हटाउन माथिल्लो सदनको दुईतिहाइ बहुमतको खाँचो पर्छ। त्यसको निम्ति ६७ जना सदस्यले महाभियोगको पक्षमा मतदान गर्नुपर्ने हुन्छ।
तर सिनेटमा ४७ जना डेमोक्र्याट र ५३ रिपब्लिकन सांसदहरू छन्।
कुनै पनि रिपब्लिकन सांसदले ट्रम्पलाई हटाउने पक्षमा मत दिने सङ्केत दिएका छैनन्।
ट्रम्पलाई सफाइ दिने पक्षमा मतदान गर्ने सङ्केत दिएका कैयौँ डेमेक्र्याटहरूप्रति धेरैको चासो पाइन्छ।
डेमोक्र्याटभित्रको कुनै पनि विद्रोह राष्ट्रपतिका निम्ति प्रतीकात्मक विजय हुनेछ। त्यसलाई उनले भविष्यमा राष्ट्रपतीय निर्वाचनको अभियानमा आफ्नो लाभको निम्ति उपयोग गर्न सक्छन्।

जोन बोल्टन सेप्टेम्बर महिनामा पदमुक्त भएका थिए
बोल्टनको बयान राष्ट्रपति ट्रम्पले युक्रेनसँग गरेको स्वार्थपूर्ण प्रतिशोधको भावना राखेको भनिएको विषयमा निकै घातक बन्न सक्ने खबर बाहिर आएपछि साक्षीको विषयमा गत साता तीव्र सङ्घर्ष भएको थियो।
तर त्यो सम्भावना शुक्रवार डेमोक्र्याटहरूको हातबाट फुत्किएको छ।
रिपब्लिकन सिनेटर सुसन कोलिनस र मिट रोम्नीले साक्षी बोलाउने पक्षमा मतदान गर्ने निर्णय गरेका थिए। तर उनीहरू रिपब्लिकन सांसदमाझ एक्लिए।
बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जकर भन्छन्, “अनपेक्षित र अप्रत्याशित भयानक विकासको सम्भावनामा बाहेक हाउस अफ रेप्रिजेन्टटिभ्सबाट सिनेटमा पुगेको दुईवटा अभियोगमा ट्रम्पलाई सफाइ दिने पक्षमा उनको पार्टीको ठूलो पङ्क्तिले मतदान गर्नेछ।”
सिनेटरले के भने?
राष्ट्रपतिको प्रतिस्पर्धामा भएका चारमध्ये तीन डेमोक्र्याट सिनेटरहरूले साक्षीको विषयमा भएको मतदानको परिणमा आएपछि ट्वीट गरेर असन्तुष्टि प्रकट गरेका छन्।
“सिनेटका रिपब्लिकनहरूले अमेरिकी जनतालाई विफल तुल्याइदिए र अमेरिकी संविधानप्रति लिएको शपथ भङ्ग गरे,” म्यासचूसिट्सबाट प्रतिनिधित्व गर्ने सिनेटर एलिजाबेथ वारेनले लेखिन्।
Senate Republicans just failed the American people & broke their oath to the United States Constitution.
— Elizabeth Warren (@SenWarren) January 31, 2020
डेमोक्र्याटहरूसँग रहेका भर्मोन्टका स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले लेखेका छन्, “मैले साक्षी नभएको सुनुवाइबारे कहिल्यै सुनेको छैन। यो अमेरिकाको इतिहासको एउटा दु:खद दिन हो।”
मिनिसोटाका सिनेटर एमी क्लोबसारले लेखेका छन्, “यदि साक्षी छैनन् भने त्यो निष्पक्ष सुनुवाइ हुँदैन। सत्य बाहिर आउनेछ।”
फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियोले महाभियोगको मापदण्ड पूरा हुँदैमा राष्ट्रपतिलाई पदमुक्त गर्नु राष्ट्रहितमा हुन्छ भन्ने नभएको तर्क गरेका छन्।


















