धरान(सुनसरी),७ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री के.पी.ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकार सरकारले ताली मात्रै बजाउने जनमत तयार गरिरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस धरान उपमहानगरपालिका समितिले आज धरानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्ट नेताहरुले भाषणमा मात्र होइन, कम्युनिष्ट पद्दतिलाई अगाडि बढाउन राज्य व्यवस्थालाई सर्वसत्तावादतर्फ उन्मुख गराएको आरोप पनि लगाउनुभयो ।
उहाँले आफूले नेकपाको केन्द्रीय कमिटिको बैठकले पास गरेको दस्तावेज हेरेको बताउदै भन्नुभयो, ‘उनीहरु राज्य व्यवस्थालाई आफ्नो सिद्धान्त अनुरुप बनाउने तयारीमा छन् । राज्य व्यवस्थालाई आफ्नै ढाँचा लैजानुपर्ने मत उठाएका छन् ।’
उहाँले २०४६ सालमा कम्युनिष्ट नारा चल्दैन भनेर जनताको बहुदलिय जनवादको आवरणमा जनतालाई झुक्याउदै आएका कम्युनिष्टहरुले दुईतिहाई नजिक पुगेपछि कम्युनिष्ट आर्दश अनुसारको शासन व्यवस्थाको बहस सुरु गरेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो,उनीहरुले आफ्नो इच्छा संविधान बनाउने बेलामा पनि प्रकट गरेका थिए तर हामीले रोक्यौ । लोकतान्त्रिक पद्दतिको संविधान बनायौ तर अहिले उनीहरुकानुन बनाएर कम्युनिष्ट आर्दशलाई प्रयोग गर्न लागिरहेका छन् ।
कांग्रेसका वरिष्ठ नेता पौडेलले कांग्रेसका कमजोरीका कारण जनताका आँखामा छारो हालेर कम्युनिष्टहरुले बहुमत ल्याएको बताउदै नेपाली जनताले कम्युनिष्टहरुलाई बहुलवाद मास्न कम्युनिष्ट शासन लागू गर्नका लागि मत नदिएको बताउनुभयो ।
नेता पौडेलले कम्युनिष्टहरु प्रधानमन्त्रीलाई होइन राष्ट्रपति शासनलाई सबल बनाउन लागिरहेको पनि आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरु अहिले शितलनिवासलाई शक्तिशाली बनाउने दाउमा छन् । राष्ट्रपतिलाई शक्तिशाली बनाएर राष्ट्रपति शासन लागु गर्ने तयारीमा छन् । यो संविधानसभाले बनाएको संविधानको मर्म विपरित हो । संविधानलाई पन्छाउदै विभिन्न कानुन बनाएर उनीहरु राष्ट्रपतिको अधिकार बढाउने तयारीमा छन् ।’
उहाँले कम्युनिष्टहरु ताली मात्रै बजाउने जनमत तयार गर्दै सरकारको सर्मथन नगर्नेलाई छानि छानि बदनाम गराउन लागेको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, ‘क्याविनेटमा प्रस्ताव लैजाने प्रधानमन्त्री र मुख्यसचिहरुलाई सरकारको निर्देशनमा अख्तियारले चोख्याएको छ । अनि एउटा मन्त्री र सचिवलाई फसाइएको छ । यो भनेको रातो झण्डा ओढेपछि सवै खत माफ हुन्छन भन्ने हो । वाइडवडिको छानविन हुन्न । माओवादी शिविरमा भएको भ्रष्टाचारको छानविन हुन्न । कम्युनिष्टका नेताहरुसंलग्न भएका भ्रष्टाचारका ठूला ठूला काण्ड लुकाइएको छ र संविधान र प्रचलित ऐन उल्लंघन गरेर कांग्रेसका नेता र समर्थकलाई बदनाम गर्न खोजिदैछ ।’
कांग्रेस नेता पौडेलले संवैधानिक निकायलाई सरकारको आज्ञापालक बनाइएको आरोप लगाउदै भन्नुभयो,’ निष्ठावान आर्दशवान सवै मानिस कांग्रेसमा छन् । हामीले कम्युनिष्टसंग निष्ठाको लडाई लड्नुपर्छ । अब ओरल्ली मोरल्ली र पोलिटिकल्ली कम्युनिष्टसंग भिड्न सक्ने नेता कार्यकर्ता कांग्रेसलाई आवश्यक छ।’
उहाँले धरानका मेयर तिलक राईको उदाहरण प्रस्तुत गर्दै राजनीति नेता कार्यकर्ताको अर्को सफलता क्रियाशीलता र कर्मशिलता भएको बताउनुभयो । क्रियाशिल र कर्मशिल नेता कार्यकर्तालाई राजनीति दलले अन्याय गर्न नसक्ने र जनताको साथ पनि रहने हुनाले संगठन र सामाजिक तथा आर्थिक विकास र रुपान्तरणका कार्यमा जुट्न नेपाली कांग्रेसका कार्यकर्तालाई आग्रह गर्नुभयो ।