Prakash Adhikari February 27, 2020

काठमाडौं, १५ फागुन  । नेपाल कम्युनिष्ट पार्टी नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट पैदा भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै पूर्वमन्त्री शर्माले सरकारका मन्त्रीहरुले आफ्ना कामको जिम्मेवारी लिनुपर्नेमा संसद र जनतालाई ढाँट्ने काम गरेको भन्दै ढटुवा सरकारप्रति विश्वास गर्न नसकिने बताउनुभएको हो ।

नेपाल ट्रष्टको नाममा रहेका जग्गाहरु भाडामा दिने सम्बन्धमा हालै त्यसका अध्यक्ष रहनुभएका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जारी गर्नुभएको श्वेतपत्र झूटको पुलिन्दा भएको उल्लेख गर्नुभयो । उहाँले निश्चित व्यपारिक स्वार्थभएका समूहलाई नेपाल ट्रष्टको जग्गा भाडामा लगाउने कार्यमा आफ्नो नाम पनि मुछिएकोमा असन्तुष्टि प्रकट गर्दै उहाँले आफू सत्य र तथ्यको खोजीमा नेपाल ट्रष्टको कार्यालयमा पुगेको विवरण दिंदै भन्नुभयो, ‘ट्रष्टको कार्यालयको माइन्युटमा के लेखिएको रहेछ भनेर मैले हेर्न मागे । तर मलाई माइन्युट हेर्न दिइएन । निवेदन दिएर हेर्न पाउँ भन्दा पनि ताल्चा लगाइएको छ भन्दै मलाई हेर्न दिइएन । मैले त्यहाँका कर्मचारी साथीहरुसँग सोधेँ । मेरो नाम पनि आयो । म ट्रष्टको कार्यालयमा गृहमन्त्री हुँदा कहिले पनि पसेको थिइन । आज त आएँ । तर कसरी आयो मेरो नाम भनेर सोधें ।’

उहाँले आफूसंग त्यहाँका ‘कर्मचारीले हामीले त उहाँको नाम छैन । उहाँले मिटिङ गर्नुभएको छैन भनेर भनेका थियौँ । उहाँको पालममा कुनै निर्णय भएको छैन भनेर भनेका थियौं भनेर बताएको बताउनुभयो ।

आफू सत्यको खोजीमा मुख्य सचिवसमक्ष पनि पुगेको बताउनुभयो । त्यतिबेला गृहसचिव रहनुभएका वर्तमान मुख्य सचिवले पनि यो सबै झूटा हो, हजुरको पालामा पनि भएन र अन्य माननीयको पालामा नि भएन भनेर बताउनुभएको उल्लेख गर्दै आक्रोशपूर्ण स्वरमा सोध्नुभयो, ‘म आश्चर्यमा परेंको छु यो यो श्वेतपत्र हो कि अश्येत पत्र हो ? ’

उहाँले २०७४ कात्तिक १३ गते भएको निर्णयमा आफ्नो नाम जोडिएको बताउदै भन्नुभयो,‘२०७४–७–१३ गते थामसेर्कु प्रालिको आर्थिक प्रस्ताव स्वीकृत भएको र तत्कालीन नेपाल ट्रष्टको संरक्षक सम्माननीय शेरबहादुर देउवा र गृहमन्त्री माननीय जनार्दन शर्मा भनिएको रहेछ । त्यतिबेला म गृहमन्त्री नै थिइन, नियतवश मेरो नाम लेखियो । म कात्तिक १३ गते होइन, असोज ३० गतेबाट गृहमान्त्रीको जिम्मेवारीबाट हटेको छु । असोज ३० गते नै मैले पत्रकार सम्मेलन पनि गरेँ र मलाई बिना विभागीय मन्त्री बनाइयो । त्यसपछि म गृहमन्त्री हुने कुरै भएन । तर जब कर्मचारीले उहाँ होइन हजुर भन्दाभन्दै पनि मेरा नाम किन लेखियो ?

नेकपा नेता शर्माले आफूले संसदको राज्य ब्यवस्था समितिमा रहदा पनि सुशासनको पक्षमा र भ्रष्टाचारको विपक्षमा आवाज उठाउदै आएको बताउदै भन्नुभयो, संविधानले प्रत्याभूत गरेका शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सबै नेपालीलाई प्रदान गर्ने, कृषिलाई आधुनिकीकरण र औधोगिकीकरणको अभियानका बारेमा बोल्ने गर्दा आफ्नै पार्टीका मन्त्रीलाई पचेको रहेनछ ।

पूर्वमन्त्री शर्माले म असत्यको अगाडि कहिल्यै आत्मसमर्पण गर्दिन र म तर्सिन पनि तर्सिन्न् भन्दै झुट कुरा धेरै नटिक्ने बताउनुभयो ।

ओली सरकारले आफ्ना विरोधीलाई विभिन्न आरोप र विवादमा फसाएर राजनीतिक चरित्र हत्या गर्ने अभियान चलाएको छ । बालुवाटार प्रकरणबाट सुरुभएको यो अभियानमा नेपाल ट्रष्टको सम्पत्ति हिनामिनाको कुरामा प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व गृहमन्त्री विमलेन्द्र निधि, जनार्दन शर्मा लगायतलाई मुछिएको थियो ।

कांग्रेस सभापति देउवाले भने भ्रष्टाचार र अनियमितताको आहालमा चुर्लुम्म डुबेको ओली सरकारको यस हरकतको बुधबार नै प्रतिवाद गरिसक्नुभएको थियो ।

Share Now

Leave a comment.