काठमाडौं, १७ फागुन । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी शुक्रबारदेखि विधिवत रुपमा बैबाहिक बन्धनमा बाँधिएका छन् ।
बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरे । विवाह समारोहमा प्रियंका र आयुष्मानका पारिवारिक सदस्यसँगै उनीहरुका निकट कर्मीहरुको उपस्थिति रहेको थियो ।
विवाहको अवसरमा दिइने पार्टी पनि दुवैको तर्फबाट संयुक्त रुपमा शुक्रबारै दिइएको थियो । पार्टीमा चलचित्र कलाकारहरुको भव्य उपस्थिति रहेको थियो ।
प्रियंका र आयुष्मानको जोडीले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर आफ्नो वैबाहिक जीवनलाई कानूनी मान्यता दिएका थिए ।
प्रियंकाको जन्मदिनको अवसरमा विवाहको कानूनी रीत पूरा गरेको यो जोडीले शुक्रवार सामाजिक परम्परा अनुसारको बिबाह सम्पन्न गरेको हो।
गत वर्ष नै औपचारिक इंग्जेमेण्ट गरेका प्रियंका र आयुष्मानको एकापसको प्रेम फिल्म ‘कथा काठमाण्डू’ को सेटबाट सुरु भएको बताइन्छ ।
प्रेम सम्बन्धका बारेमा सधै खुलेर कुरा गर्ने प्रियंका र आयुष्मानको जोडी सार्वजनिक कार्यक्रमहरुमा संगै पुग्थे । ‘चंगा चेट’ र ‘प्रेम दिवस’ जस्ता फिल्म दिएको यो जोडीले विवाहपछि सँगै बस्न काठमाडौंमा घर समेत किनिसकेको छ ।