काठमाडौं, १७ फागुन । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विदेशमा गरिने प्रचार स्थगित गरिएको छ।
चीनबाट फैलिएको भनिएको कोरोना भाइरसले चीन, जापान,कोरिया सहितका एशिया प्रशान्त क्षेत्रका देशमा इटाली लगायत यूरोपका देशमा असर गरेको भन्दै सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिवार राजधानीमा आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा विदेशमा हुने प्रचार प्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवर्द्धनको गरिएको बताउनुभएको हो।
कोरोनाकै कारण पनि भ्रमण वर्षलाई असर परेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौं । ’
परिस्थिति अनुकूल भएपछि र कोरोना त्रास हटेपछि सक्रियताका साथ फेरि भ्रमण वर्षको प्रवर्द्धनात्मक काममा अगाडि बढ्ने उहाँले दावी गर्नुभयो ।