काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसले विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपबाट नेपाली नागरिकहरुलाई जोगाउन केन्द्रदेखि शहर र गाँउका टोलटोल र घरघरमा जनचेतना अभियान सञ्चालन गर्ने भएको छ भने कोरोनाको संक्रमण फैलन नदिन सम्मेलन,भेला,मेला र प्रशिक्षण जस्ता धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्ने भएको छ ।
नेपाली कांग्रेसका तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनको आयोजना गरी सोको जानकारी दिनुभएको हो ।
कांग्रेसले सार्वजनिक गरेको विज्ञप्ति जस्ताको तस्तै :
तत्कालका कार्यक्रमहरु स्थगित, गाउँसम्म सतर्कता अभियान
आदरणीय पत्रकार साथीहरू,
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।
(१) विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको प्राण घातक कोरोना भाइरस (कोबिड १९) बारे ‘सरकार र समुदायका नाममा नेपाली कांग्रेसको १४ बुंदे अपील’ फागुन १९ गते पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक गरेको यहाँहरुलाई विदितै छ । विश्व स्वास्थ संगठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा हाम्रा सबै प्रयासहरु जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रुपले केन्द्रित गर्नुपर्ने भएको छ ।
(२) सरकारी लापरबाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण भित्रिन या फैलिन सक्ने खतरालाई गम्भीर रुपले लिएर सरकारलाई एकातर्फ हामी खबरदारी गरिरहेका छौं भने अर्कातर्फ यो जोखिम सामना गर्ने साझा राष्ट्रिय अभियानमा सरकारलाई नेपाली कांग्रेसको सम्पूर्ण साथ रहनेछ । सरकार र सम्बन्धित निकायहरूले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध साथ आत्मसात गर्न हामी हार्दिक अपील गर्दछौं ।
(३) त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो स्थापना गर्न सरकारलाई पुनः अपील गर्दछौं ।
(४) विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको छ ।
(५) तर पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु (बाँकी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण लगायत) सम्बन्धित समितिहरुमार्फत जारी रहनेछ ।
(६) कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरुमार्फत विविध ढंगले अघि बढाइने निधो गरिएको पनि सार्वजनिक रुपले सूचित गर्दछौं ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता
एवं
प्रमुख—सूचना, सञ्चार तथा प्रचार विभाग
नेपाली कांग्रेस


















