काठमाडौं, २२ फागुन । विश्वभर अनपेक्षित गतिमा फैलिरहेको संक्रामक घातक कोरोना संक्रमणको कारण चैत्र १ गतेबाट राजधानी काठमाडौमा हुन लागेको एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।
मार्च १४ देखि २८ तारिखसम्म काठमाडौंमा हुने प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टले जनाएको छ ।
चीनको बुहानबाट उद्गम भएर संसारभर फैलदै गएको कोरोना संक्रमणबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारले ठूला सभा,सम्मेलन,खेल कार्यक्रम,कन्सर्ट जस्ता आम नागरिक भेला हुने कार्यक्रम आयोजना नगर्न निर्देशन दिएपछि त्यसलाई मध्यनजर गरेर यो प्रतियोगिता स्थगित गरिएको हो ।
आयोजक जोरा स्पोर्टसले सरकारको निर्णयलाई ध्यानमा राख्दै हालका लागि स्थगित गरिएको र कोरोनाको असर मत्थर भएपछि नयाँ मिति सार्वजनिक गर्ने बताएको छ ।
जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको भएपनि खेलाडी र दर्शकहरुको स्वास्थ्यलाई ख्याल गरेर कार्यक्रम स्थगित गरिएको बताउनुभएको छ ।
खेलको लागि प्रशारण संस्था र खेलाडीको रकम दिइसकेको तथा यस क्रममा पाँच करोड जति खर्च भएको बताउनुभएको छ ।
६ वटा नेपाली टिममा आबद्ध भएर विश्व चर्चित खेलाडीहरु समेत खेल्न लागेको यो प्रतियोगिता केही महिना पर धकेलिने संभावना रहेको छ ।


















