Prakash Adhikari January 18, 2018

 

काठमाडौं, ४ माघ । नेपाली कांग्रेस कार्य समितिको बैठक आज ११:०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

हालैसम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनपछिको यो पहिलो बैठक हो ।

पार्टी सचिवालयले सभापतिको निर्देशनानुसार केन्द्रीय बैठक बोलाइएको सूचना जारी गरे पनि बैठकका एजेण्डाका बारेमा केन्द्रीय सदस्यहरुलाई कुनै जानकारी गराएको छैन ।

नेपाली कांग्रेसमा एजेण्डा सहित बैठक बस्ने परम्परा भंग भएको छ ।

बैठकमा नेपाली कांग्रेसले दुवै तहको निर्वाचनमा लज्जाजनक पराजय भोग्नु परेको विषयमा केन्द्रीय सदस्यहरुले खुलेर वर्तमान संस्थापन पक्ष अर्थात पार्टी सभापतिको विरोध गर्ने अनुमान गरिएको छ ।

पार्टीमा रहेको संस्थापन विरोधी समूह संगठित रुपमा उत्रिने तयारीमा रहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको यो समूहले निर्वाचनमा पार्टीको लज्जाजनक पराजयको कारण खोतल्न श्रृखलाबद्ध रुपमा धेरै बैठक सम्पन्न गरी प्रतिवेदन तयार पारेको छ ।

सो प्रतिवेदनमा पार्टी सभापति शेरबहादुर देउवा सरकार सञ्चालन र पार्टी सञ्चालन दुवै मोर्चामा असफल हुनु नै पार्टीको पराजयको कारण भएको किटानी सहितको निश्कर्ष निकालिएको छ ।

पार्टीको यो बैठकमा आसन्न राष्ट्रिय सभा को निर्वाचनलाई संस्थापन पक्षले मुख्य एजेण्डा बनाउन खोजेको छ ।

संस्थापन समूहको नियन्त्रणमा बैठक रहन सक्यो भने आजको बैठकमा राष्ट्रिय सभा को उम्मेदवारीको मापदण्ड निर्धारण, लोकतान्त्रिक गठबन्धनमा साझा उम्मेदवारी तय, प्रदेश सरकार गठनमा लोकतान्त्रिक गठबन्धनका दलहरुसंगको सहकार्य, प्रदेश सभाको संसदीय दलको विधान लगायतका विषयमा छलफल हुनेछ ।

संस्थापन समूहले चलाखी अपनाएमा निर्वाचनमा पार्टीको पराजयको कारण पत्ता लगाई पार्टीलाई पुन संघीय संसददेखि प्रदेश र स्थानीय तहमा बहुमतमा ल्याउने उपाय सहितको प्रतिवेदन तयार पार्न गैर संस्थापन पक्षका सदस्यहरुसमेत रहने गरी एक समिति गठन हुने प्रबल संभावना रहेको छ ।

Share Now

Leave a comment.