Prakash Adhikari January 18, 2018

काठमाडौं, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको अस्थायी मुकाम तोकेर सरकारले अप्ठ्यारो फुकाएको बताएका छन् ।

थार्ईलैण्डको बैंककमा नियमित स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किए पछि बिहिबार अपरान्ह त्रिभुवन अन्तराष्टिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले सरकारले तोकेको अस्थायी मुकामबारे यस्तो प्रतिक्रिया दिएका हुन् ।

सरकारले प्रदेशका अस्थायी मुकाम किटानी र प्रमुखको सिफारीस गरी प्रदेश सरकार निर्माण र प्रदेश सभा सञ्चालनको मार्ग प्रशस्त गरेकोले प्रदेशको राजधानीको विषयलाई लिएर आन्दोलन गर्नुको कुनै अर्थ नरहेको पनि एमाले अध्यक्ष ओलीले बताए ।

‘प्रदेश राजधानीका विषयमा पनि अहिले अल्झनु आवश्यक छैन’ एमाले अध्यक्ष ओलीले भने, ‘प्रदेश सभाले परिवर्तन गर्न सक्ने यो विषयमा अहिले नै आन्दोलन गर्नु हुँदैन।’

एमाले अध्यक्ष ओलीले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए ।

कांग्रेसको सरकारले शिफारीस गरी नियुक्त हुने प्रदेश प्रमुखलाई एमाललेले फेछ कि फेर्दैन ? भन्ने प्रश्नमा सरकारले ढिलो गरीआफ्नो काम गरेको र प्रदेश प्रमुखबारे विस्तृत कुरा थाहा नभएको बताउदै एमाले अध्यक्ष ओलीले भने, ‘नयाँ सरकारले अनुकुलता र आवश्यकता हेरेर निर्णय लिन्छ ।’

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष ओलीले आफू बिरामी भएर उपचार गर्न नभई नियमित स्वास्थ्य परीक्षण गर्न बैंकक गएको र सबै परीक्षणले स्वास्थ्यमा कुनै समस्या नभएको देखिएको बताए।

ओली अघिल्लो बुधबार उपचारका लागि बैंकक गएका थिए।

Share Now

Leave a comment.