Prakash Adhikari March 11, 2020

लण्डन(संयुक्त अधिराज्य),२८ फागुन (बीबीसी) । कोरोनभाइरसको प्रकोपको सामना गरिरहेका प्रमुख देशहरूले आफ्ना अर्थतन्त्रलाई त्राण दिन अर्बौँ डलर खर्च गर्ने योजना अघि सारेका छन्।

इटलीको सरकारले कोरोनाभाइरसको प्रकोपले निम्त्याएका आर्थिक असरसँग जुझ्न ११ अर्ब डलर खर्च गर्दै विभिन्न कदमहरू चाल्न लागेको छ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले अर्थतन्त्रमा ऊर्जा भर्न चार अर्ब डलर खर्च गर्ने बताएका छन्।

साना व्यवसायलाई सस्तो ब्याजमा ऋण दिन लागिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि थप खर्च योजना सार्वजनिक गर्न लागेका छन्।

इटलीमा अभूतपूर्व कदम
इटलीको मिलानकी एक सांसद लिअ क्वारटपेल्लेले अभूतपूर्व परिस्थितिको सामना गरिरहेको इटलीले अभूतपूर्व नै कदमहरू चाल्न लागेको बताइन्।

उनले भनिन्, “भोली हाम्रो संसद्‌को आपत्कालीन बैठकमा कर तथा तिरो पर सार्ने, बेरोजगार सहुलियत दिने जस्ता विषयमा छलफल हुँदैछ।”

इटली सरकारले व्यवसायिक प्रतिष्ठानहरूलाई यसपटक अगष्ट महिनाको सट्टा मार्चमा बिदा दिन अनुरोध गर्न लागेको उनले बताइन्।

कोरोनाभाइरसका कारण ४ सय ६० जनाको ज्यान गएपछि इटलीमा लाउड स्पिकरको प्रयोग गर्दै मानिसहरूलाई घरमै बस्न अनुरोध गरिएको छ।

अहिले त्यहाँको सार्वजनिक जीवनमा दोस्रो विश्व युद्धपछिकै कडा प्रतिबन्धहरू लगाइएको छ।

तर अत्यावश्यक कामको लागि यात्रा गर्न कसैलाई छेकिएको छैन।

बन्दी भेट्न रोक लगाइएपछि कारागारहरूमा तनाव बढेको छ।

मेल्फी कारागार शान्त भएपनि फोज्जको कारागारमा तनाव भएको छ।

अस्ट्रियाका चान्सलरले चिकित्सकको प्रमाणपत्र बिना इटलीबाट कसैलाई पनि अस्ट्रिया प्रवेश गर्न नदिने बताएका छन्।

एक नेतालाई कोरोनाभाइरस सङ्क्रमण भएपछि स्पेनको संसद् पनि बन्द गरिएको छ।

Share Now

Leave a comment.