प्रकाश अधिकारी
काठमाडौं,२८ फागुन । प्रधानमन्त्री ओलीको स्वास्थ्योपचार र स्वास्थ्य स्थितिबारे उहाँको मृगौला प्रत्यारोपण र उपचारमा संलग्न चिकित्सकहरुले मंगलबार साँझ गरेको पत्रकार सम्मेलनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र नयाँ संकट ल्याउने स्थिति देखिएको छ ।
दोस्रोपटक मृगौलाको सफल प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्रीको स्वास्थ्यलाभको दर अपेक्षित गतिमा भए पनि उहाँ पूर्ण स्वस्थ्य भएर सामान्य मानिससरह हुन कम्तिमा ६ महिनादेखि १ बर्षसम्म लाग्ने समयावधि जसरी उहाँका चिकित्सकहरुले किटान गरेका छन्, त्यसलाई आधार मान्ने हो कि एक बर्षसम्म आइसोलेसनमा रहने बिरामी प्रधानमन्त्रीलाई शीरमा लिएर नेपाली जनता बस्नुपर्ने भयो कि उहाँको स्थानमा उहाँ अध्यक्ष रहेको नेकपाले नयाँ स्वस्थ्य र सक्षम प्रधानमन्त्री दिन सक्नु पर्यो ।

नेपालको संविधानले कार्यकारी प्रमुखको रुपमा प्रधानमन्त्रीलाई लिएको छ । एक बर्षसम्म सामान्य अवस्थामा नरहने प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हुने परिकल्पना गरेको छैन् । नेपालको प्रधानमन्त्री केवल मन्त्रिपरिषद्को प्रमुख मात्र हैन, नेपालका वर्तमान कानूनहरुले ऊ झण्डै चार दर्जन संस्थाहरुको पदेन प्रमुख रहने व्यवस्था छ । राज्य सञ्चालनका नियमित काम बाहेक यी संस्थाहरुको नियमित सञ्चालनका साथै यिनलाई दिशा र गति दिन एक सक्रिय र स्वस्थ प्रधानमन्त्रीको आवश्यकता हुन्छ । प्रधानमन्त्री ओलीको स्वास्थ्योपचारमा संलग्न चिकित्सकहरुको भनाईलाई आधार मान्ने हो भने उहाँबाट कम्तिमा ६ महिना र बढीमा एक बर्ष यी नियमित काम हुन सहज छैन् ।
चीनमा फैलिएको कोरोना भाइरसको कारण नेपालको विकास निर्माण प्रभावित भएको छ । समृद्ध नेपाल र सुखी नेपालीको संकल्प प्रधानमन्त्री ओलीले नै अगाडि सार्नुभएको छ । मित्र राष्ट्र चीनसहित विश्व कोरोना भाइरसको वर्तमान संकटबाट मुक्तभएपछि नेपालको विकासलाई थप गति दिन सरकार प्रमुखका हैसियतले प्रधानमन्त्रीले अधिक समय दिनुपर्ने अवस्था आउछ । अस्पतालको सैय्यामा रहनुभएका र अस्पतालबाट छुटेपछि पनि स्वास्थ्यलाभको लागि सयन कक्षमा दिन विताउनु पर्ने प्रधानमन्त्रीबाट त्यस्तो सक्रियताको अपेक्षा गर्न सकिन्न । चिकित्सकहरुले नै वर्जित गरिदिनेछन् ।
यस्तो रुग्ण सैय्यामा बसेर मन्त्रिपरिषद्का र आफूमा निहित अधिकार दोस्रो वरियताका मन्त्रीलाई सुम्पेर राज्य चलाउने एक विकल्प हुन सक्छ तर नेपालको संविधानले यस्तो छद्मभेषी शासनको परिकल्पना गरेको छैन । जब प्रधानमन्त्री फस्र्ट ह्याण्ड इन्फरमेश डिल गर्न सक्षम हुँदैनन्, राज्यका निकाय प्रमुखहरुसंग सम्पर्क गर्न सक्दैनन् र बञ्चित रहन्छन् राज्यका निकायहरुले कसको आदेश, निर्देश, निर्णय र विवेकको भरमा राज्य सञ्चालन गर्ने हो भन्ने प्रश्न आउछ ।
सत्तामा रहेका हरेकले आफूखुसी अधिकारको प्रयोग गर्ने, अनधिकृत अधिकारको प्रयोग गर्ने र राज्य सञ्चालनको वैधानिक अधिकार प्राप्त नभएका व्यक्तिहरुसमेत सक्रिय हुने अवस्था आउछ । अर्थात राज्यमा भूमिगत गिरोहको शासन चल्छ । प्रधानमन्त्रीको आदेश,निर्देशन वा सल्लाह अनुरुप भनेर सल्लाहकारको नामबाट, निजी सचिवालयको नामबाट,नातापाताको नामबाट वा पार्टीका नेताहरुको राज्यका निकायमा अनधिकृत हस्तक्षेप हुन जान्छ । यसले राज्यमा अनियन्त्रित,अब्यवस्थित र अराजक स्थिति सिर्जना गर्दछ । यो प्रधानमन्त्री स्वयंका लागि पनि त्यति प्रितिकर रहने छैन् । देश र जनताको सेवामा उहाँको प्रतिवद्धताको कारण संघीय संसदको प्रतिनिधि सभाले उहाँप्रति विश्वासको मत दिएको हो । अन्य मन्त्री र सल्लाहकारहरु उहाँ आफूले मनोनित गरेका व्यक्तिहरु हुन् । संसदले अनुमोदन नगरेका व्यक्तिहरुले उहाँले दिए पनि प्रधानमन्त्रीका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउछन् कि पाउदैनन् भन्ने विवाद पनि आफ्नो स्थानमा छदैछ ।
आफूमा निहित अधिकार प्रयोग गर्न नसक्ने अवस्थामा,आफ्ना सपना र संकल्पलाई पूरा गर्न आफू सक्रिय हुन नसक्ने अवस्थामा केवल सेना र प्रहरीको घेराभित्र बसेर औषधि खानलाई मात्र प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुने प्रवृत्तिले नेपालका नेताहरु आर्यघाट पुग्दा पनि कुर्सी छोड्न चाहदैनन् भन्ने कथनलाई मात्र पुष्टि गर्दछ । विश्वमा मृत्युपर्यन्त राज गर्ने अधिकार पाएका राजाहरुले त आफू जीवित रहदै सत्ता हस्तान्तरण गरेका छन भने पार्टी पद्धतिमा चल्ने नेकपाभित्र शारीरिक रुपमा अशक्त प्रधानमन्त्रीलाई सुयोग्य उत्तराधिकारीबाट विश्राम दिन सकिदैन भन्न मिल्दैन् ।
प्रधानमन्त्री ओलीले पनि के विश्वास लिनु उपयुक्त हुन्छ भने समृद्ध नेपाल,सुखी नेपालीको सपना उहाँले ल्याउनु भयो । त्यो राम्रो छ । उहाँ आफैले पनि आफूलाई स्वप्नद्रष्टा बताउनु भएको छ । हरेक सपना आफ्ने जीवनकालमा आफैले पूरा गर्न सकिन्छ भन्ने छैन् । वी.पी. कोइरालाले एक सपना देख्नुभयो समस्त नेपालीलाई मध्यम वर्गमा ल्याउने प्रजातान्त्रिक अधिकारसहितको समतामूलक समाजको । त्यसलाई पूरा गर्न उहाँको देहावसानपछि पनि लाखौं कार्यकता आआफ्नो कर्मक्षेत्रमा खटिएका छन् । उहाँको सिंगो पार्टी लागेको छ । मदन भण्डारीको सपना पूरा गर्न राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म लाग्नुभएकै छ । प्रधानमन्त्री ओली नेपालको अहिलेको सवैभन्दा ठूलो राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँको सपना उहाँ आफैलेमात्र पूरा गर्ने हैन, त्यो जिम्मा पार्टीले लिनुपर्छ । नेकपाका लाखौ कार्यकर्ताको सपना भयो भने मात्र त्यो पूरा हुनेछ । यस अर्थमा प्रधानमन्त्री ओलीले आफनो सपना पूरा गर्ने उत्तराधिकारी पनि तयार पार्नुपर्छ । उहाँले नसक्दा वा नचाहादा उत्तराधिकारी पार्टीले तयार पार्नुपर्दछ । राज्यमा जब छद्म शासन सुरु हुन्छ , तब राज्यको पतन हुन्छ ,इतिहासले त यही देखाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका सामु पनि एक नैतिक प्रश्न खडा भएको छ । नेकपा मुलुकलाई एक स्वस्थ र सक्रिय कार्यकारी प्रमुख दिन सक्षम छ कि छैन ? बामपन्थी गठबन्धन बनाएर चुनावमा गएको हालको नेकपाले निर्वाचनको बेलामा कसैलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको थिएन् । प्रधानमन्त्री ओली तात्कालीन नेकपा एमालेको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पनि होइन् । उहाँलाई फेर्न मिल्दैन भन्ने होइन् । संसदमा झण्डै दुईतिहाईको स्थान जितेको नेकपाले राज्य सञ्चालन गर्न सक्ने स्वस्थ्य प्रधानमन्त्री दिन सकेन भने अर्को चुनाव के कसरी लड्छ ?
नेकपाका सचिवालय सदस्यहरु, स्थायी समितिका सदस्य र केन्द्रीय कमिटीका सदस्यहरुले पहिलोपल्ट प्रत्यारोपण गरिएको मृगौलामा समस्या नआउदै प्रधानमन्त्री ओली भूमिगत गिरोहको फन्दामा पर्नुभएको विषयलाई ध्यान दिन जरुरी छ ? नेपालको सार्वजनिक खरिदको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार र अनियमितता भएको वाइडबडीको भ्रष्ट्राचारलाई दबाउन उहाँ आफै किन अग्रसर हुनुपर्यो ? ३३ किलो सुन प्रकरणमा वद्नाम व्यापारी दीपक मल्होत्राको संलग्नता देखिएपछि अनुसन्धान किन तुहियो ? यति ग्रुपको गोकर्ण लिज प्रकरण र दरबारमार्ग लिजजवाफ दिन प्रधानमन्त्री आफै अग्रसर हुनुपर्ने कारण के हो ? सिंगो पार्टीलाई बद्नाम गर्दागर्दै नेपालको नक्साबाला केक तेह्रथुममा कसरी पुग्यो ? आफ्ना अत्यन्त निकट सञ्चार मन्त्री सेक्युरिटी प्रेसको कमिशन डिलमा कसरी संलग्न हुन पुग्नुभयो ?
सत्तारुढ नेकपाले त यो प्रश्नको पनि जवाफ दिनुपर्ने भएको छ कि युवा अवस्थाका नारीहरुको मृगौला दान लिएर भूमिगत गिरोहको सेवा गर्नुपर्र्ने अवस्थामा प्रधानमन्त्री केपी ओलीलाई किन पुर्याइदै छ ?
अस्पतालबाट डिस्चार्ज भएपनि प्रधानमन्त्री ओली आफ्ना अत्यन्त संकीर्ण र प्रतिशोधमूलक व्यवहारका कारण पार्टीको उल्झनबाट उम्किन सक्ने अवस्था रहने छैन । पार्टीको सचिवालयले पार्टीका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सम्बन्धमा गरेको सर्वसम्मत निर्णयलाई उहाँले उपेक्षा गर्नुभएको छ । त्यसको पालनाको कुरा तत्काल उठ्ने अवस्था छ ।
पार्टीभित्रका इमान्दार सोझा नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको राजनीति सिध्याउन उचालिएको ललिता निवास प्रकरणको ज्वारभाटा उठ्न बाँकी नै छ । विश्व अर्थतन्त्र डाँबाडोल भएको र नेपालको अर्थतन्त्र सिथिल हुँदै गएको अवस्थामा अमेरिकाले दिने भनिएको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तरगतको अनुदान रकमसम्बन्धी विवाद उकल्चिएर पार्टीमा बसेको छ । यी कुराको व्यवस्थापन बालुवाटारमा सुतेर हुने छैन् । समयले प्रधानमन्त्री ओलीका लागि जनताको सहानुभूति समेत लिएर विदा लिने अनुकूल समय यही हुनसक्ने संकेत दिएको छ , जसमा उहाँप्रति जनताको सद्भाव र सहानुभूति कायम रहीरहन्छ, सत्तालिप्साको आरोपबाट मुक्ति मिल्नेछ, जनतामा आशा जगाउने नेताको रुपमा उहाँको स्थान सुरििक्षत हुनेछ ।
सम्मानजनक बहिर्गमनको मार्ग र समय चयन गर्न नसक्दा आफ्नो बढेको राजनीतिक कद नेपालका र अन्य मुुलुकका नेताहरुले घटाएको इतिहासबाट प्रधानमन्त्री ओली, उहाँको सल्लाहकार समूह र शुभचिन्तकहरुले शिक्षा लिन जरुरी छ । समयले कसैलाई पर्खदैन र नेपालका सफल भनिएका राजनीतिक नेताहरुको बर्हिगमन त्यति सुखद् पनि देखिएको छैन् । कम्तिमा नेपालको कृतग्न इतिहासबाट नेकपाका नेता र कार्यकर्ताहरुले शिक्षा लिन जरुरी छ ।





















