Prakash Adhikari March 12, 2020

काठमाडौं, २९ फागुन । संघीय संसदको आज बस्ने प्रतिनिधिसभाको बैठकमा नेपाली भूभाग कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुने कार्यसूची रहेको छ।

कार्यसूची अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले यससम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ।

सुगौली सन्धीमा महाकाली नदीको पूर्वको भाग नेपालको सीमाना हुने स्पष्ट व्यवस् भएपनि चीनलाई निगरानी गर्ने नाममा भारत सन ६० को दशकमा काली नदीको नक्कली मुहान सिर्जना गरी दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र आफ्नो सीमातभित्र पारेर सो क्षेत्रमा सैनिक क्याम्प खडा गरेको थियो ।

भारतले जम्मु र कश्मीरलाई अलग अलग राज्यमा विभाजन गरी सार्वजनिक गरेको नयाँ नक्सामा पनि भारतद्धारा नेपालले दावी गर्दै आएका विवादित कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समावेश गरेपछि नेपालको संघीय संसदमा त्यसको विरोध भएको थियो ।

त्यसबेला भएको सर्वदलीय बैठकले पनि नेपाली भूभाग अतिक्रमण हुनबाट रोक्न सरकारलाई निर्देशन दिनुका साथै कुटनीतिक र अन्य पहलकदमी गरी अतिक्रमित नेपाली भूभाग हासिल गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन सरकारको ध्यानाकर्षण गराइएको थियो।

आजको बैठकमा प्रस्तुत हुने संकल्प प्रस्तावमा पनि यिनै विषयहरु समाविष्ट भएको जनाइएको छ ।

आजको बैठकमा ‘धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेश हुनेछ। ‘कारागार विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने विद्येयक प्रस्ताव पनि आज बस्‍ने बैठकको कार्यसूचीमा राखिएको छ।

गृहमन्त्री रामबहादुर थापाले अन्तरदेशीय संगठित अपराध महासन्धी अन्तर्गतको पालेर्मो अभिसन्धि पनि अनुमोदनका लागि पेश गर्नुहुने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराइले जानकारी दिनुभएको छ।

राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

Share Now

Leave a comment.