Prakash Adhikari March 13, 2020

 

काठमाडौं,३० फागुन । विश्वव्यापी कोरोनाको महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारले अध्ययन र रोजगारीका विदेश जान रोक लगाएको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गठित उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ भने अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय गरेको छ ।

यसअघि नेपाल सरकारले दक्षिण कोरियामा मात्र मार्च महिनाभरका लागि कामदारहरु नपठाउने निर्णय गरेको थियो ।

नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसको संक्रमण बढ्दै गएको र विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्व महामारीयुक्त रोगको रुपमा परिभाषित गरेपछि यसबाट नेपाली नागरिकलाई रोक्न उच्चस्तरीय समितिको सिफारीसमा सरकारले यो कदम चालेको हो ।

नेपालको श्रम गन्तब्यको रुपमा रहेका कोरिया र कतारले विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाइसकेका छन् भने कुवेतले सबै उडानहरु रोकेपछि अन्य मुलुकका नागरिक भित्रिन पाएका छैनन् ।

विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा १४ मार्च २०२० देखि ३० अप्रिल २०२०सम्मका लागि स्थगित गरिएको छ ।

विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरिएको छ । यसअघि भिसा लिइसकेका विदेशी नागरिकहरुले नेपालको अध्यागमन विन्दुमा आईपुगेको मितिभन्दा सात अगाडिसम्मको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

१४ मार्च २०२० देखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

Share Now

Leave a comment.