Prakash Adhikari March 15, 2020

काठमाडौं, २ चैत्र । नबिल बैंक लिमिटेडले वार्षिक १० प्रतिशतको आकर्षक ब्याजदरमा सार्वजनिक गर्न लागेको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको निष्कासन तथा बिक्री आजदेखि खुला हुने भएको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। निष्कासन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगतसम्पर्कबाट बिक्री हुनेछ भने बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ।
सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

७ वर्ष अवधि रहेको सो ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्धितीय अर्धवार्षिक समाप्त भएपश्चात बैंकले ब्याज भुक्तानी गर्नेछ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गते बन्द हुने जनाइएको छ ।

नबिल ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले ऋणपत्रको लगानी पर्याप्त सुरक्षित रहेको बताउछ ।

नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट ऋणपत्रमा आवेदन दिन सकिने बताइएको छ ।

Share Now

Leave a comment.