लण्डन(संयुक्त अधिराज्य), २ चैत्र । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा बितेका २४ घण्टामा थप १० व्यक्तिको मृत्यु भएको छ।
योसँगै कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ।
बेलायतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार १ सय ४० पुगेको छ।
संक्रमित र मृतकको बढ्दो संख्यालाई ध्यानमा राख्दै बेलायती सरकारले बेलायती कम्पनीहरूलाई भेन्टिलेटर तथा अन्य स्वास्थ्य उपकरणको उत्पादनमा वृद्धि गर्न आग्रह गरेको छ।
बेलायती प्रधानमन्त्रीले उनीहरूलाई संक्रमणको नियन्त्रण र रोकथामको राष्ट्रिय प्रयास जोडिन आग्रह गर्नुभएको थियो।
कोरोना संक्रमणको रोकथामका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको अमेरिकाले बेलायत तथा आयरल्याण्डबाट हुने हवाइ आवागमनलाई पनि रोक्ने निर्णय गरेको छ। यो रोक सोमबार मध्यरातबाट लागु हुने अमेरिकाले जनाएको छ।
गत साता अमेरिकाले युरोपका अन्य मुलुकहरूबाट आफ्नो देशमा हुने हवाइ आवागमन रोक्ने निर्णय गरेको थियो।


















