जनकपुरधाम(धनुषा), ४ चैत । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानी आज(मंगलबार) प्रदेश सभाको बैठकमा मतदान गरी टुंगो लगाइँदै छ । त्यसका लागि प्रदेश सभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ ।
सभामुख सरोजकुमार यादवका अनुसार नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ ।
प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ ।
तर नामको विषयमा प्रदेश नं २ को सभामा प्रतिनिधित्व गरेका दलहरुकाबीच सहमति हुन सकेको छैन ।
प्रदेशका ठूला दलहरुले अलग–अलग नाम प्रस्ताव गरेका छन् ।प्रदेश सरकारमा रहेका समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेपाल कम्युनिष्ट पार्टीले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेशको नामाकरण र राजधानीको टुंगो राजनीतिक सहमति भए पनि मतदानबाट गराउनु पर्ने संवैधानिक प्रावधान रहेकोले मतदान गर्न लागिएको हो ।
प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को नेपाली काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ ।
नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन ।
यसअघि नाम र राजधानी सहमतिमै टुंगो लगाउन र प्रस्तावमाथि छलफल गर्नका लागि प्रदेशसभाको बैठकबाट सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन गरिएको थियो ।
विशेष समितिमा पनि दलहरुबीच स्थायी राजधानी जनकपुरधाम नै राख्ने सहमति भए पनि नामको विषयमा सहमति हुन सकेको थिएन ।


















