काठमाडौं, ८ चैत्र । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट देशलाई बचाउन सरकारले अत्यावश्यकबाहेक सबै कार्यालयहरु बन्द गर्ने र २५ जनाभन्दा बढी भेलाहुने व्यवसाय र कार्यक्रमहरु गर्न नदिने निर्णय गरेपछि प्रदर्शनको तयारीमा रहेका प्रेमगीत ३ र चपली हाइट ३ सहित झण्डै आधा दर्जन फिल्मको रिलिज प्रभावित भएको छ ।
सरकारले बैशाख १८ गतेसम्म सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेपछि बैशाख दोस्रो सातासम्मका सम्पूर्ण फिल्मको प्रदर्शन स्थगित भैसकेका छन् भने छायांकनरत फिल्म रोकिएका छन् ।
सरकारले डेढ महिनासम्म सिनेका हल बन्द गर्ने निर्णय गरेकोले ‘म यस्तो गीत गाउँछु २’‘नीरफूल’, ‘लक्का जवान’, ‘चपली हाइट ३’ र ‘प्रेमगीत ३’ को पनि प्रदर्शन अनिश्चितकालका लागि रोकिएको छ । झण्डै आधा दर्जन फिल्मको प्रदर्शनका लागि गरिएको खर्च खेर गएको निर्माता र बजार व्यवस्थापकहरुको गुनासो रहेको छ ।
प्रेमगीत ३ मा छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ ।
यो फिल्मबाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । ‘प्रेमगीत ३’ ले डेढ सय वर्ष अगाडिको प्रेमकथा वाचन गर्छ ।
‘चपली हाइट ३’ पनि स्थगित
यही चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षीत फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसबाट बच्न सरकारले बिहीवारबाट सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेपछि फिल्मको प्रदर्शन रोकिएको हो । निर्माण कम्पनी अर्जुन कुमार फिल्मसले फिल्म निर्धारित मितिमा प्रदर्शन नहुने विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि सरकारले अप्रिल ३० सम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेका कारण आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै फिल्मको प्रदर्शन स्थगित गरिएको निर्माता अर्जुन कुमारले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।
निकेश खड्का निर्देशित ‘चपली हाइट ३’ सुपुष्पा भट्ट, स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको फिल्ममा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ भने, अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।