रोम(इटाली), ९ चैत्र । विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट इटलीमा शनिबार मात्रै थप ७ सय ९३ जनाले जीवन गुमाएका छन् । यो कोरोनाको कारण कुनै एक देशमा एकै दिन मृत्यु हुने विरामीहरुको सबैभन्दा ठूलो संख्या हो ।
शनिबार जीवन गुमाएकासहित कोरोनाबाट इटलीमा ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार ५ सय ६४ ले बढी हो ।
चीनका स्थानीय जनतामा नयाँ संक्रमण रोकिएको बेला इटलीमा भने संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको संक्रमण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ पुगेको छ । यीमध्ये २ हजार ८ सय ५७ को अवस्था गम्भीर रहेको बताइएको छ ।
कोरोनाको संक्रमण अनपेक्षित रुपमा ज्यामितीय रुपमा विस्तारित हुँदै गएपछि शनिवार इटालीका प्रधानमन्त्री गुइसेप कोन्टेले फेसबुकबाट प्रत्यक्ष सम्बोधन गर्दै देश दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर संकटको अवस्थामा रहेको बताउनुभएको छ । उहाँले देशका अत्यावश्यक बाहेक सबैक्षेत्रका उत्पादन उद्योगहरु बन्द गर्न अपील गर्नुभएको छ । यो प्रतिबन्ध खाद्यान्न र औषधी उत्पादनभन्दा बाहेकका सबै उद्योगहरुका लाग्नेछ ।
उहाँले बडो भावुक हुँदै भन्नुभएको छ, ‘जुन मृत्यको खबर हामी हरेक दिन निरन्तर सुनिरहेका छौ, ती संख्यामात्रै होइनन्,ती त हाम्रा नागरिक हुन् । सबै औषधी पसलहरु,खाद्य स्टोर्स,वित्तिय सेवा र सार्वजनिक यातायातहरु भने खुला हुनेछन् ।’
उहाँले भन्नुभएको छ, ‘यी नयाँ मापदण्डहरुले मुुलुकलाई छिट्टै कोरोनामुक्त बनाउन सहयोग गर्नेछन् र हामीलाई हाम्रा उद्योगमा,हाम्रो पिज्जा फर्कन आफ्ना प्रियजनलाई अंंकमाल गर्ने अवस्था पुर्याउन मद्दत गर्नेछन् । हामीले यो किन गरेका छौ भने हामी इटालीलाई अतिसय माया गर्दछौ ।’
लोम्बर्डी क्षेत्रमा कडा नियम

इटलीको लोम्बर्डी क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न कडा नियमहरू लगाइएको छ।
शनिवार अबेर घोषणा गरिएका नयाँ नियम अनुसार समूहमा वा एक्लै पनि घर बाहिर खेल्न र शारीरिक व्यायाम गर्न प्रतिबन्ध लगाइएको छ। सामानहरू किन्ने मशिन प्रयोगमा पनि रोक लगाइएको छ।
लोम्बर्डी इटलीको सबैभन्दा नराम्ररी प्रभावित स्थान हो, त्यहाँमात्रै कोरोनाभाइरसका कारण ३,०९५ को मृत्यु भएको छ।
यो क्षेत्रका अध्यक्ष एट्टिलियो फोन्टानाले कडाइका नयाँ नियमहरू एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ।
‘अति आवश्यक’ सामग्रीका पसलहरू बाहेक सबै व्यवसायहरू बन्द गर्न भनिएको छ। अस्पताल, सडक र रेलमार्ग बाहेक कुनै पनि निर्माण सम्बन्धी काममा रोक लगाइएको छ।
लोम्बर्डीमा ८ मार्चदेखि ‘लकडाउन’ गरिएको छ। र सरकारले त्यो क्षेत्रमा सबैभन्दा पहिले परीणाम देखा पर्ने आशा राखेको छ।
अन्त के भइरहेको छ ?
यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिवारको अन्तसम्म चीनमा ६ जनाको मृत्यु भएको र ४६ नयाँ संक्रमण भेटिएको जनाएको छ । यी कुनै पनि घट्नाहरु कोरोनाको उद्गम स्थल हुवेइमा नभई बाहिर भेटिका हुन् । हुवेइमा विगत ४ दिनदेखि कुनै पनि नयाँ संक्रमण देखिएको छैन ।
यी ४६ नयाँ संक्रमणका घट्नामा ४५ जनाको संक्रमणबाहिरबाट आएको हो । कोरोना संक्रमण सुरुभएपछि बाहिरबाट चीन आउने नागरिकमध्ये ३ सय १४ जनामा यस्तो संक्रमण देखिएको छ ।
कोरोनाबाट हुवेइमा ३ हजार १ सय ४४ ले जीवन गुमाएका छन् भने चीनमा जीवन गुमाउनेकोे कुल संख्या ३ हजार २ सय ६१ रहेको छ । चीनमा कूल संक्रमितको संख्या ८१ हजार ५४ रहेको र ७२ हजार २ सय ४४ जना उपचारपछि कोरोनामुक्त भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण र यसबाट भएको मृत्युको निरन्तर निगरानी राख्दै आएको जोन हप्किन्स विश्वविद्यालयका अनुसार वितेको हप्ता कोरोना भाइरसका संक्रमणका घट्नाहरु दोब्बर भएका छन् र विश्वको ३ लाखभन्दा बढीमा यो संक्रमण देखिएको छ । अघिल्लो हप्ता जम्मा १ लाख ५६ हजार ३ सय ९६ मा यो संक्रमण सीमित थियो ।
कोभिड १९ बाट मर्नेहरुको संख्या पनि पछिल्लो हप्ता दोब्बरभन्दा बढी भएको छ । अघिल्लो हप्ता यसको कारणबाट जीवन गुमाउनेको संख्या ५ हजार ८ सय ३३ थियो तर पछिल्लो हप्ता १२ हजार ९ सय ४४ को पुग्यो ।
यसै बीच दक्षिण अमेरिकी देश बोलिभियाले पनि पूरै देशलाई १४ दिन क्वारेन्टाइनमा राख्ने घोषणा गरेको छ। बोलिभियाका अन्तरिम राष्ट्रपति जेनाइन अनेजले बोलिभियाका सबै नागरिकलाई २४ घण्टा घरमै रहन र हरेक परिवारबाट एकजना मात्र किनमेलमा निस्कन आग्रह गर्नुभएको छ । त्यहाँ सार्वजनिक र निजी सवारी यातायात निलम्बन गरिएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो साञ्जेनले देशवासीलाई अझ दृढताका साथ कोरोनाविरुद्धको लडाइको सामना गर्न अनुरोध गर्दै सबैभन्दा खराब अवस्था आउन बाँकी रहेकोमा सचेत गराउनु भएको छ । स्पेनमा १९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
कुवेतका उपप्रधान तथा आन्तरिक मामिला मन्त्री अनस अल सलेहले आइतबार अपरान्ह ५ बजेदेखि ११ घण्टे कर्फयू आदेश जारी गर्नुभएको छ ।
चिलीमा कोरोना भाइरसको कारण ८२ बर्षे बृद्धको देहान्त भएको छ । यो चिलीको पहिलो कोरोना पीडित मृत्यु हो ।



















