काठमाडौं, ९ चैत्र । शनिवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सिंगापुरको सिल्क एअरका यात्रुहरुलाई तीन घण्टाको गलफत्तीपछि नागरिक उड्डयन प्राधिकरणको अनुमतिले ओरालिएको छ।
शनिबार राति ८ः४० मा आएको विमानका यात्रुलाई मध्यराति १२ बजे मात्रै ओरालिएको हो । सो विमानमा कोरोना संक्रमणका कारण नेपालले प्रतिबन्ध लगाएका जापान र नेदरल्याण्डबाट आएका यात्रुका कारण सबै यात्रुलाई ओर्लन दिने कि नदिने भनेर लामो विवाद उत्पन्न भएको थियो ।
विश्वभर फैलिएको कोरोना भाइरसबाट जोगिन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना प्रभावित युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने सबै यात्रुलाई आगामी बैशाख ३ गतेसम्म नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्यरातिदेखि लागु हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म प्रतिबन्ध लगाइएको छ।
प्रतिबन्धित देशका यात्रुहरु विमानमा सवार रहेको जानकारी पाएपछि नागरिक उड्डयन प्राधिकरणले विमान फिर्ता पठाउन भनेको थियो। यात्रुहरु नओरालिकन विमान फिर्ता लैजान सिल्क एअर तयार भएपछि यात्रुहरुले चर्को नाराबाजी गरे र प्राधिकरणले पर्यमन्त्रीसमेतको परामर्श लिएर यात्रुहरु ओराल्न दियो ।प्रतिबन्धित देशबाट आएका यात्रु नेपाली नै रहेको पाइएपछि प्राधिकरण ओराल्ने निर्णयमा पुगेको हो।
विमानमा रहेका ८५ यात्रुमध्ये ३ जना प्रतिबन्धित देशबाट फर्किएको पाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले बताउनुभएको छ।
विमानमा जापानबाट फर्किएका दुई जना र नेदरल्यान्डबाट फर्किएका एक नेपाली पनि सवार थिए । संकटको बेलामा मातृभूमिमा आइपुगेका आफ्नै देशका नागरिकलाई फिर्ता पठाउन नैतिक संकट उत्पन्न भएकोले सबै यात्रु उत्रन दिइएको प्राधिकरणले बताएको छ ।
कोरोना संक्रमणमा परेर नेपालले आवागमनमा प्रतिबन्ध लगाएका जापान र नेदरल्याण्डबाट आएका तीन जना यात्रुलाई राति नै खरिपाटी क्वारेन्टाइनमा पठाइएको छ। अन्य ८२ यात्रुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्ने गरि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले यात्रुहरुको व्यवस्थापन गरेको थियो।
नेपालले गत शुक्रबारदेखि कोरोना प्रभावित देशबाट आउन प्रतिबन्ध लगाएको थियो। आइतबारदेखि भने सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।


















