Prakash Adhikari March 26, 2020

 

काठमाडौं, १३ चैत्र । बलिउड नायिका निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ । बुधबार बेलुकी मुम्बई स्थित आफ्नै निवासमा उहाँको मृत्यु भएको हो ।

निम्मी लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । एक चर्चित नायिकाको निधनमा बलिउडका थुप्रै सेलिब्रिटीले शोक जताएका छन् ।

ऋषि कपुरले निम्मीलाई याद गर्दै लेख्नुभएको छ, ‘भगवानले आत्मालाई शान्ति दिउन् । धन्यवाद निम्मी आन्टी ‘बबी’ को प्रिमियरमा शुभकामना र प्रेम दिनुभएकोमा । तपाईं आरके (राज कपुर) परिवारको हिस्साको रुपमा रहनुभयो । ‘बरसात’ तपाईंको पहिलो फिल्म थियो । ’

यसै गरी महेश भट्टले , ‘तपाईं आफ्नो इच्छामार्फत् आफ्नो मनलाई जित्न सक्नुहुन्छ तर अन्त्यमा मृत्युले धोका दिनेगर्छ । अलविदा निम्मी । पुरानो जमानाकी नायिका निम्मीको ८८ वर्षको उमेरमा निधन भयो ।’भनी श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

दिव्या दत्ताले निम्मीलाई श्रद्धाञ्जली दिँदे लेख्नुभएको छ, ‘तपाईंको आत्माले शान्ति पाओस् निम्मी जी । तपाईंले आफ्नो मुस्कान र जादुले भरिएको अभिनयमार्फत् पर्दामा आगो लगाउनुहुन्थ्यो । ‘अमर, उडन खटोला, आन’ तपाईंका केही अविष्मरणीय फिल्म हुन् ।’

जावेद जाफरीले निम्मीसँगको आफ्नो पुरानो फोटो सेयर गर्दै उल्लेख गर्नुभएको छ, ‘केही वर्ष अघि मैले चार क्लासिक बलिउड ब्यूटिजसँग फ्रेम साझा गर्ने मौका पाएको थिएँ । बायाँबाट अर्जा, निम्मी, कुमकुम, अमिता । निम्मी आन्टीको निधनमा यसको याद आइरहेको छ ।’

सन १९५० र ६० को दशकमा बलिउकी चर्चित अभिनेत्रीमध्ये एक निम्मीलाई राज कपुरले आफ्नो फिल्म बरसात ९१९४९० बाट ब्रेक दिनुभएको थियो । राज कपुरले नै उहाँको नाम नवाब बानोबाट परिवर्तन गरेर निम्मी राख्नुभएको थियो ।

निम्मिले बरसातबाहेक आन, कुन्दन, मेरे महबूब र पूजाके फूलजस्ता फिल्ममा काम गर्नुभएको थियो ।

सन् २००७ मा उनका लेखक श्रीमान् रजाको निधन भएको थियो ।

Share Now

Leave a comment.