काठमाडौं, १३ चैत्र । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिहरूले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारका नेपालीसहित कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको आफ्नै योगदान गरी करिब डेढ लाख रुपैया नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गर्नुभएको हो ।
साइप्रस, युएई, कतार र साउदी अरेबियाबाट प्राप्त एक लाख ३५ हजार ४ सय ४१ रूपैयाँमा कांग्रेस प्रवक्ता तथा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख शर्माले १० हजार रूपैयाँ थपेर रकम हस्तान्तरण गर्नुभएको हो ।
‘कोरोनाजस्तै स्वास्थ्य समस्या र देशको आर्थिक तथा सामाजिक विकासमा उपयोगी हुने विज्ञान र प्रविधिको क्षेत्रमा नेपालको अनुसन्धान दक्षता बढाऔं भन्ने आग्रह साथ साइप्रसको नेपालीजनसम्पर्क समिति, साउदी, युएई र कतारमा रहेका साथीहरूले जम्मा गरेर पठाएको एकलाख ३५ हजार ४ सय ४१ रुपैयाँमा १० हजार थप गरेर आविष्कार केन्द्रमा पुगेर सुम्पिएँ, श्रदेय महावीर पुनलाई नेपाली मनले पठाएको धन हस्तान्तरण गर्न पाउँदाखुशीलागेको छ,’ शर्माले सहयोग हस्तान्तरण पछि भन्नुभएको छ ।
सो अवसरमा महामारीको जोखिममा नेपालले केही योगदान गर्नसक्ने अभिप्रायले नै देशबाहिर रहेका नेपालीले आविष्कार केन्द्रलाई सहयोग गरेकाले यो कार्यमा आफ्नो पहलकदमी निरन्तर हुने आविष्कार केन्द्रका प्रमुख पुनले बताउनुभएको थियो ।
‘सानो–सानो प्रयासबाटै ठूला आविष्कार सम्भव भएको हो, हामीले गरिरहेको काम सानो होला, सीमित स्रोत साधन होला, आशा गनुपर्छ, विस्तारै दायरा फराकिलो हुनेछ,’ पुनले भन्नुभयो ।


















