न्यूयोर्क(संयुक्त राज्य अमेरिका), १३ चैत्र । अमेरिका कोरोना भाइरस तीव्र गतिमा फैलिएसंगै अमेरिकामा रहेका नेपाली मूलका नागरिक पनि यसको चपेटामा पर्न थालेका छन् ।
कोरोना संक्रमणबाट सोमबार अमेरिकामा एक जना नेपालीको मृत्यु भैसकेको छ भने १५ जना भन्दाबढिमा अहिले कोरोनाको संक्रमण देखिएको छ । यी मध्ये ३ जनाको अवस्था निक्कै गम्भीर भएको बताइएको छ । गम्भीर अवस्थामा पुगेका दुई जना न्यूयोर्क र एक जना टेक्सासको अस्पतालमा रहेका छन् ।
न्यूयोर्कमा अस्पताल भर्ना भएर उपचार गराइरहेका दुई मध्ये एक जना नेवारी समुदायका व्यक्ति हुन् । उनको पुर्खौली घर बागलुङ भएको बताइएको छ । यद्यपी उनी बागलुङ निवासी हुन वा होइनन् भन्ने आधिकारिक पुष्टि हुन सकेको छैन ।
त्यस्तै टेक्सासमा एक नेपाली दुई हप्ता देखि अस्पतालमा उपचार गराइरहेका छन् ।
संक्रमितहरु केही दिन अगाडिसम्म न्युयोर्क र टेक्सासका नेपाली समुदायको जमघट र सामूहिक भेटघाटमा सहभागी भएको थाहा भएपछि उनीहरूको सम्पर्कमा पुगेका कतिपय नेपालीहरूलेआफ्नो स्वास्थ्य परीक्षण गरिरहेका छन् ।
अमेरिकाको तीनवटा राज्यमा नेपालीहरू कोरोना भाइरसबाट सङ्क्रमित भएको बताइएको छ ।
अमेरिकामा हालसम्म १ हजार ३६ जनाको मृत्यु भैसकेको छ भने ६८ हजार ५ सय ८१ जना संक्रमित भएका छन् ।