काठमाडौं, १४ चैत्र । मुटुको चालमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार राति मुटुमा असहज महसुस भएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाहले अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य भइसकाले आजै(शुक्रबार) नै डिस्चार्ज गरिने जानकारी दिनुभएको छ
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओली नाजुक अवस्थामा फागुन ३० गते डिस्चार्ज हुनुभएको थियो ।
पूर्ण आराम लिन पर्ने समयमा पनि उहाँ निरन्तर पार्टी र सरकारको काममा सक्रिय रहदै आउनुभएको छ ।
कहिले सार्क भिडियो कन्फरेन्स,कहिले राष्ट्रका नाममा संबोधन त कहिले मन्त्रिपरिषद्को बैठक,कहिले पार्टी सचिवालयको बैठक,कहिले राष्ट्रपतिसंगको भेट त कहिले कहिले मन्त्री र पार्टीका पदाधिकारीहरुसंगको बैठकमा उहाँलाई सरिक गराइदै आएको छ ।
उहाँलाई स्वस्थ्य र सक्रिय देखाउन लकडाउनमा पनि प्रधानमन्त्रीलाई धपेडीलाई धपेडी हुने गरि सचिवालयले काममा सक्रिय गराएको आरोप सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबाटै आउन थालेको छ ।यद्यपि कोरोना भाइरसको संक्रमणबाट बच्न चैत्र ११ देखि अत्यावश्यक सेवाप्रदायक संस्थाबाहेकका सम्पूर्ण सेवाहरु पूर्ण रुपमा लक डाउन हुँदा उहाँलाई स्वाभाविक रुपमा सामान्य अवस्थामाभन्दा बढी आराम भने मिलेको बताइन्छ ।
५० भन्दा बढी राज्यका विभिन्न निकायको अध्यक्षता वा संरक्षकत्वका कारण गर्नुपर्ने बैठक, विदेशी कुटनीतिज्ञ र राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरु, संघीय संसद र तिनका समितिका बैठक, पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठक, राजनीतिक दलका नेताहरुसंगको भेटघाट, उद्घाटन र शिलान्याससहितका कार्यक्रमहरुबाट भने उहाँलाई लकडाउनका कारण राहत मिलेको छ ।