Prakash Adhikari March 29, 2020

काठमाडौं, १६ चैत्र । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतबार दिउसो बसेको बैठकले कोरोना नियन्त्रणका लागि हालसम्म भएको प्रयासको समीक्षा गर्दै संक्रमणबाट नेपाल र नेपाली जनतालाई जोगाउन लकडाउनको समयावधि अझै बढाउन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बैठक अपरान्ह ४ बजे बस्ने तय भएको छ ।

कोरोना भाइरस फैलिन नदिन सरकारले घोषणा गरेको एक हप्ताको लक डाउनको समयावधि भोलि सोमबार सकिदैछ ।

लक डाउनको घोषणाले नेपाललाई हालसम्म कोरोनाको संभावित भयावह संक्रमणबाट जोगाउन सफलता प्राप्त भएकोमा सन्तुष्टि जनाउनदै उच्च स्तरीय समितिले लकडाउनका कारण अर्थतन्त्रमा पर्ने प्रभाव हेरी राहत प्याकेज ल्याउन र आम नागरिकलाई सहज रुपमा खाद्यान्न,औषधि र अत्यावश्यक सेवा उपलब्ध गराउन बिशेष व्यवस्था गर्नु पर्ने जनाएको छ ।

भारतमा कोरोना भाइरस फैलिँदै गएको र नेपालमा पनि संक्रमितको संख्या थपिँदै गएको अवस्थामा लकडाउन अझै लम्ब्याउने रणनीति सरकारको छ ।

नेपालमा कोरोना संक्रमणको परीक्षणका लागि आजै चीनबाट सहयोग स्वरुप परीक्षण किटहरु, स्वास्थ्यकर्मीले लगाउने पीपीई लगायतका सामग्री प्राप्त भएकोले अब सात वटै प्रदेशमा राम्रोसंग परीक्षणको सुविधा बढाउन सकिने विश्वास उच्चस्तरीय समितिले लिएको छ ।

भारतले ३ हप्ताको लागि लक डाउनको घोषणा गरेकोले नेपालले अधिकतम् २ हप्ता र न्यूनतम् १ हप्ता लकडाउनको अवधि थप्न सक्ने बताइएको छ ।

Share Now

Leave a comment.