काठमाडौं, १९ चैत्र । विश्वव्यापी महामारीको रुप लिंदै गएको कोरोना भाइरसको संक्रमणबाट अध्ययन र कामको खोजीमा विदेशिएका नेपालीहरु पनि प्रभावित बनेका छन् ।
यसै क्रममा अध्ययन र कामको सिलसिलामा अष्ट्रेलिया पुगेका ८ जना नेपाली कोरोना भाइरस (कोभिड—१९) बाट संक्रमित भएको भेटिएका छन् । क्यानबेरास्थित नेपाली दूतावासका अनुसार संक्रमितमध्ये ६ जना विद्यार्थी हुन्।
सबैभन्दा धेरै नेपाली रहेको न्यु साउथ वेल्स स्टेट (एनएसडब्लु) को सिड्नीमा ४ जना नेपाली संक्रमित देखिएका छन्।
भिक्टोरियामा ३ नेपाली संक्रमित देखिएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ। भिक्टोरियाको मेलबर्न सहरमा रहेका दुई नेपाली दिदीबहिनीमा कोरोना संक्रमण देखिएको छ। उनीहरु आफ्नै निवासमा सेल्फ क्वारेन्टिनमा बसिरहेका छन्।
तस्मानियामा एक जना नेपाली विद्यार्थीमा केही अघि कोरोना संक्रमण देखिएको थियो। कोरोना लक्षण देखिनासाथ आइसोलेसनमा बसी उपचार गरेका उनी हाल निको भइसकेको नेपाली दूतावासले जनाएको छ।
अष्ट्रेलियामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने ४ हजार ७ सय ६३ जना संक्रमित भएका छन् ।
युएइमा संक्रमित नेपालीको संख्या ८ पुग्यो
संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरसबाट थप दुई नेपाली संक्रमित भएका छन्। योसँगै यूएईमा कोरोना संक्रमित नेपालीको संख्या ८ पुगेको छ।
यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दुई नेपालीसहित ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। तर संक्रमित ८ नेपालीमध्ये २ जना निको भएर आफ्नो काममा फर्किसकेका छन्।
युएईमा संक्रमितमध्ये ३१ जना भारतीय छन्। योसँगै यूएईमा कोरोना संक्रमितको कूल संख्या ६ सय ६४ पुगेको छ। युएईमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।
पोर्चुगलमा पनि ८ नेपाली संक्रमित
पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका ८ नेपालीमा कोरोना संक्रमण देखिएको छ।
उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका छन्।
उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा ८ जनामा कोरोना पुष्टि भएको छ।
सङ्क्रमितमध्ये एक बालक र एक गर्भवती पनि छन्। उनीहरुमध्ये दुई जनालाई अस्पताल भर्ना गरिएको छ। अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ।
सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य ५ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ। अहिलेसम्म पोर्चुगलमा क्वारेन्टाइनमा रहने नेपालीको सङ्ख्या ९पुगेको छ।
पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकर हमाल र त्यहाँको गैरआवासीय नेपाली संघले पोर्चुगलमा रहेको सबै नेपालीलाई सकभर घरभित्रै बस्न आग्रह गरेका छन् ।