काठमाडौं, २३ चैत्र । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूले मध्यावधि निर्वाचनको माग नगरेको बताउनुभएको छ ।
उहाँले आफूले एक टेलिभिजन अन्तरर्वार्तामा भनेको कुरालाई केही सञ्चार माध्यममा अतिरञ्जित ढंगले प्रस्तुत गरिएको उल्लेख गर्दै देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि सरकार जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको बताउनुभएको छ ।
उहाँले कोरोना संक्रमण सकिएपछि देशमा आउने परिस्थितिको बिश्लेषण गरिएको उक्त अन्तरवार्तामा मध्यावधि निर्वाचनको संभावनाबारे उल्लेख नभएको पनि बताउनुभएको छ ।
कांग्रेस सहमहामन्त्री डा. महतले अहिलेको अवस्थामा नेपाली कांग्रेसको सम्पूर्ण ध्यान देशलाई कोरोनाको संक्रमणमुक्त बनाउन सरकारलाई सघाउने र सरकारलाई जिम्मेवार पनि बनाउनेमा केन्द्रित रहेको पनि बताउनुभएको छ ।
उहाँले लकडाउनका बेला सबैले एकअर्कालाई कोरोनाको संक्रमणबाट जोगाउन र आर्थिक रुपले समस्यामा परेकालाई सघाउन आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने पनि बताउनुभएको छ ।