Prakash Adhikari April 5, 2020

 

काठमाडौं, २३ चैत्र । सङ्क्रमणबाट जोगिन डोटीको दिपायल सिलगढी नगरपालिकाले सर्वसाधारणलाई मास्क वितरण गरेको छ।

कतै अन्य बिरामीलाई अस्पतालले उपचार नगरेको त कतै स्वास्थ्यकर्मीलाई घरधनीले घरमा बस्न नदिएको भन्ने जस्ता गुनासा आएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आइतवार विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यको अधिकार रक्षा गर्न सरकार एवं स्वास्थ्यकर्मीहरूसमक्ष अपिल गरेको छ।

कोरोनाभाइरस सङ्क्रमणका विवरणका माझ अचेल देशभरिका कतिपय ठाउँमा अन्य रोग लागेका वा ज्वरो आएका व्यक्तिहरूलाई अस्पतालको गेटबाट फर्काइएका घटना सार्वजनिक भएका थिए।

के भन्यो आयोगले ?

यसले महामारीको समयमा अरू रोग लागेकाहरूलाई कठिनाइ परेको देखिएको थियो।

मिर्गौला, क्यान्सर, क्षयरोग, एड्स, मधुमेह, उच्चरक्तचाप, मानसिक रोग जस्ता रोगहरूबाट पीडितहरूको उपचार तथा औषधीको अपर्याप्तताको कारण बिरामीहरूमा समस्या उत्पन्न हुन थालेको उजुरी प्राप्त भएको आयोगले जनाएको छ।

आयोगले एक विज्ञप्तिमा प्रकाशित गर्दै भनेको छ ,’ विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम, नोवेल अस्पतालमा समयमै उपचार हुन नसकी एक महिलाको मृत्यु हुन गएको, काठमाडौँ उपत्यकास्थित समिट, सिभिल, नर्भिकलगायतका अस्पतालहरूले बहिरङ्ग सेवा बन्द गरि बिरामीलाई फर्काएको, बिरामीहरूले एम्बुलेन्स सेवा प्राप्त गर्न नसकेको तथा कतिपय घरधनीले स्वास्थ्यकर्मीहरूलाई घरमा बस्न नदिएको जस्ता समाचारहरूप्रति पनि आयोगको ध्यान आकृष्ट भएको छ ।’

आयोगले सबै स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षाको सुनिश्चितता, एम्बुलेन्स चालक लगायत सुरक्षाकर्मीहरूलाई आवश्यकता अनुरूप व्यक्तिगत सुरक्षा कवचको उपलब्धता र उनीहरूबाट हुने नियमित सेवा प्रवाहमा आफू विश्वस्त हुन चाहेको बताएको छ।

उसले नेपालको संविधान तथा कानुन एवं अन्तर्राष्ट्रिय कानुनबमोजिम प्रत्याभूत गरिएका हरेक व्यक्तिको आकस्मिकलगायत सबै प्रकारका स्वास्थ्य सेवा लिन पाउने अधिकार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

‘अतः यस जटिल परिस्थितिमा कोभिड-१९ लगायतका सबै गम्भीर प्रकृतिका बिरामीहरूको समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाइ हरेक व्यक्तिको स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न आयोग नेपाल सरकार, सम्पूर्ण स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य संस्थाहरूलाई विशेष आग्रह गर्दछ’, आयागले भनेको छ ।

यसअघि सर्वोच्च अदालतले पनि स्वास्थसम्बन्धी अधिकारलाई लिएर चासो प्रकट गरेको थियो।(बीबीसीबाट)

Share Now

Leave a comment.