काठमाडौं, २६ चैत्र (बीबीसी) । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरूले कोरोनाभाइरस सङ्क्रमणको सम्भावित महामारी रोकथाम र नियन्त्रणका निम्ति चीनबाट सामान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा नेताहरूले छानबिन हुनुपर्ने माग गरेका छन्।
वरिष्ठ नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे आफूले अध्ययन गरिरहेको जानकारी बैठकमा गराउनुभएको छ।
केही दिनअघि चीनबाट स्वास्थ्य सामग्री किन्न एउटा निजी कम्पनीलाई दिइएको जिम्मेवारी र उसले कबुल गरेअनुसार सामान नल्याएको भन्दै उससँगको सम्झौता रद्द गरिएको विषयले निकै चर्चा पाएको थियो।
त्यस प्रकरणमा भ्रष्टाचार भएको र त्यसमा राजनीतिक संरक्षण रहेको खबरहरू प्रकाशित भएपछि त्यो विषयले बैठकमा प्रवेश पाएको थियो।
चेतावनीपूर्ण शैली
तर नेता खनालले कुनै संस्था वा कम्पनी विशेषमा केन्द्रित नभएर समग्र प्रक्रियामा भ्रष्टाचारको कुरा उठाएको बताउनुभयो।
उहाँले बैठकमा आफूहरूले राखेको धारणा सुनाउँदै बीबीसीसँग भन्नुभयो। समग्रमा जे भएको छ, ‘योबारेमा अध्ययन गर्नुपर्यो, छानबिन गर्नुपर्यो, आवश्यकता परे पार्टीले पनि छानबिन गर्छ।’
‘छानबिन गर्ने निकायकहरू छन्। ती निकायहरूलाई काम गर्न लगाउनुपर्यो, प्रधानमन्त्री गम्भीर हुनुपर्यो।’

उहाँको भनाइले नेताहरूले चेतावनीपूर्ण शैलीमा कुरा उठाएको बुझिन्छ।
नेता खनालले भन्नुभयो, ‘प्रधानमन्त्रीले त्यो प्रकारका अनियमितता गर्ने मान्छेहरूमाथि कडाभन्दा कडा कारबाही अविलम्ब थाल्नुपर्छ, अन्यथा राम्रो हुँदैन, पार्टीले यस्तो खालको कुरा सहदैन भनेका छौँ।’
प्रधानमन्त्री ‘अध्ययन गर्दै’
त्यस विषयमा प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले आफूले अध्ययन गरिरहेको जानकारी गराएको खनालले बताउनुभयो।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, ‘उहाँले ‘म त्यसबारे गम्भीर छु, आफैँ पनि अध्ययन गरिरहेको छु। जुन प्रकारका गल्ती कमजोरी देखा पर्छन् त्यस आधारमा म कडाइका साथ जान्छुु भन्नु भएको छ।’
चीनबाट निजी कम्पनीले सामान ल्याएको विषय विवादमा परेपछि सरकार(सरकारबीच अर्थात् जीटूजी विधिअनुसार सामान किन्ने निर्णय गरिएको थियो।
स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।
सरकारको भूमिका तलमाथि
नेकपाकै कतिपय सचिवालय सदस्य त्यसप्रति असन्तुष्ट रहेको बताइएको थियो।

मार्च महिनाको अन्तिम साता नेपाल वायुसेवा निगमको विमान प्रयोग गरेर चीनमा खरिद गरिएका सामग्रीहरू नेपाल ल्याइएको थियो
तर त्यसबारे गहिरिएर कुरा नभएको बताउँदै नेता खनालले त्यसमा नेपाली सेनाको भूमिकाबारे मात्र कुरा भएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘नागरिक सरकारको भूमिका तलमाथि पर्ने गरीकन सेनालाई दिने कुरा उपयुक्त हुँदैन। सङ्कटको घडीमा सेनालाई परिचालन गर्ने काम अधिकतम रूपमा गर्नुपर्छ भन्यौँ।’
उहाँका अनुसार प्रधानमन्त्रीले ‘ठिक छ, त्यसलाई गम्भीरतापूर्वक लिन्छौँ’ भन्ने उत्तर दिनुभएको थियो।
हस्ताक्षर सङ्कलनको यथार्थ
नेकपाभित्र पार्टी सचिवालयको बैठक डाक्नुपर्ने माग नेताहरूले गरिरहेका थिए। तर प्रधानमन्त्री कोरोनाभाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकार व्यस्त रहेको भन्दै तत्कालै बैठक बोलाउने पक्षमा नरहेको भन्ने खबरहरू आइरहेका थिए।
त्यही परिप्रेक्ष्यमा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै भन्नुभएको थियो, ‘हो, मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु। दुवै अध्यक्ष कमरेडहरूलाई अनुरोध गरेको छु।’
‘आवश्यकता पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ। आजको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ। त्यसैले शीघ्र बैठक बस्ने विश्वास छ, बस्नै पर्छ।’
सचिवालयका केही सदस्यहरूले बीबीसीसँगको कुराकानीमा ‘केही साथीहरूले दबाव दिन त्यसो गर्नुपर्ने कुरा उठाएको’ बताउनुभएको थियो।
तर उहाँहरूले त्यसमा आफ्नो संलग्नता पुष्टि गर्नुभएन।
अन्ततस् बैठक बसेपछि त्यो बाटोको औचित्य समाप्त भएर राम्रै भयो भन्ने उहाँहरूको भनाइ थियो।


















